१४ श्रावण २०८३, बिहिबार

सुपर मादी हाईड्रोको नाफामा २७७% ले उछाल, यस्ता छन् अन्य सूचक



काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेकाले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यो खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७७.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको वित्तीय खर्च घट्दै ५४ करोड ३६ लाख रुपैयाँबाट ४६ करोड ५ लाख रुपैयाँमा झरेको छ। यद्यपि, ह्रासकट्टी खर्च भने ३० करोड ६७ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि ७ करोड २८ लाख रुपैयाँबाट वृद्धि भएर ८ करोड ८७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ। रिजर्भ तथा सञ्चित कोषको आकार अघिल्लो वर्षको १४ करोड १४ लाख रुपैयाँबाट बढेर ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल चालु सम्पत्ति ४७ करोड १ लाख रुपैयाँ र कुल चालु दायित्व २२ करोड ५७ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१५.२२ रुपैयाँ तथा तरलता अनुपात २.०८ रहेको छ।