शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौँ। समस्याग्रस्त शिव शिखर सहकारीका थप ५६ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएको जनाएको हो। हालसम्म सो सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको छ।













