१४ श्रावण २०८३, बिहिबार

लघुवित्त पीडितसँग सरकारको पहिलो वार्ता निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने



काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गठन गरेको वार्ता टोली र पीडित पक्षबीच बिहीबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ।

दुवै पक्षबीच सहमति हुन नसकेपछि वार्तालाई शुक्रबार पुनः निरन्तरता दिने सहमति भएको छ।

अर्थमन्त्री वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका थिए। उनले समितिलाई सोही दिन आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका थिए।

गठन भएको समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।

सोहीअनुसार अर्थ मन्त्रालयमा बसेको पहिलो चरणको बैठकपछि वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच छलफल भएको थियो। तर, दुवै पक्षबीच विभिन्न माग र समाधानका विषयमा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।