खुद ब्याज आम्दानी घट्दा साना किसान लघुवित्तको नाफा २५ प्रतिशतले खुम्चियो
काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफासहित अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ।
संस्थाले गत आर्थिक वर्षमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको यस संस्थाको नाफा यसपटक २५.३६ प्रतिशतले घटेको हो। खुद नाफामा आएको कमीको प्रमुख कारण आम्दानीमा आएको संकुचन रहेको वित्तीय विवरणले देखाएको छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ, जुन करिब २९ प्रतिशतको गिरावट हो।
यस्तै, कुल सञ्चालन आम्दानी पनि अघिल्लो वर्षको १ अर्ब ८१ करोड २७ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ५४ लाख रुपैयाँमा झरेको छ। सञ्चालन मुनाफा समेत १ अर्ब २७ करोड ६३ लाख रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा संस्थाको वितरणयोग्य मुनाफा पनि घटेको छ। अघिल्लो वर्ष १ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा यस वर्ष १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँमा कायम भएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोषमा ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ भने शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.२९ रुपैयाँबाट घटेर १३.२६ रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा निष्क्रिय कर्जा (एनपीएल) २.९६ प्रतिशत कायम रहँदा प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ।













