बैंकहरूको मुद्दती निक्षेपमा २४ अर्ब १८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूबाट ब्याजदरसम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान गरेको हो।
राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त रकम सन् २०२६ अगस्ट १२ देखि २०२७ अगस्ट १२ सम्म अर्थात् ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ।
रकमको विनियोजन बैंक तथा वित्तीय संस्थाको वर्गीकरणअनुसार गरिएको छ। कुल लगानीमध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूका लागि ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि १ अर्ब २० करोड ९३ लाख रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले तोकिएको प्रक्रिया र मापदण्डअनुसार प्राप्त ब्याजदर प्रस्तावका आधारमा मुद्दती निक्षेपको लगानी गर्नेछ।














