पूर्वी तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम गर्न अपिल
काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्तिपूर्ण तथा हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा नाडाले नेपालको विविधतायुक्त सामाजिक संरचनालाई राष्ट्रिय शक्तिका रूपमा उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचाराको संरक्षण गर्न सबै पक्षलाई आग्रह गरेको छ।
संस्थाले संविधानले नागरिकलाई आफ्ना विचार, असहमति र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट राख्ने अधिकार दिएको स्मरण गराउँदै हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने जनाएको छ।
नाडाका अनुसार यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्छ। विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुने भएकाले निजी क्षेत्र यसप्रति चिन्तित रहेको संस्थाले उल्लेख गरेको छ।
एशोसिएशनले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी र लोकतान्त्रिक प्रक्रियाअनुसार संवाद तथा आपसी समझदारीमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।
त्यस्तै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्न र सामान्य जनजीवन तथा व्यवसायिक गतिविधि यथाशीघ्र सहज बनाउनेतर्फ आवश्यक पहल गर्न नाडाले अनुरोध गरेको छ।
विज्ञप्तिको अन्त्यमा नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ।













