प्रविधिमैत्री सहकार्यको खोजीमा नेपाल र इजरायल, डिजिटल रूपान्तरणदेखि कृषि विकासमा हातेमालो गर्ने प्रतिबद्धता
सूचना प्रविधि र डिजिटल नवप्रवर्तनमा इजरायली अनुभव बटुल्दै नेपाल, सञ्चारमन्त्री र इजरायली राजदूतबीच सिंहदरबारमा भयो महत्त्वपूर्ण भेटवार्ता।
काठमाडौँ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न सरकारले आन्तरिक तयारी मात्र होइन, अन्तर्राष्ट्रिय साझेदारीलाई समेत तीव्र बनाउन थालेको छ।
यसैक्रममा सूचना प्रविधि र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर नेपाल र इजरायलबीच आपसी सहकार्यका नयाँ क्षेत्रहरूमा छलफल भएको छ। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई प्रविधि र विकासको आयामबाट थप मजबुत बनाउने विषयमा पछिल्लो भेटवार्ता केन्द्रित रहेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासबीच मन्त्रालयमा भेटवार्ता भएको हो।
सो अवसरमा नेपाल र इजरायलबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धका साथै समसामयिक हितका विषयमा गम्भीर कुराकानी भयो। सन् १९६० देखि प्रगाढ बन्दै आएको दुई देशको सम्बन्धलाई अब आर्थिक समृद्धि र प्रविधिको विकासमा जोड्नुपर्नेमा दुवै पक्षले जोड दिए।
भेटका क्रममा इजरायली राजदूत बासले नेपालको विकास यात्रामा आफ्नो देश सधैँ साथमा रहेको बताए। उनले सूचना प्रविधि, डिजिटल नवप्रवर्तन र कृषि आधुनिकीकरणका क्षेत्रमा सहकार्य बढाउन इजरायल तयार रहेको स्पष्ट पारे।
इजरायलले कृषि र प्रविधि क्षेत्रमा हासिल गरेको प्रगतिको लाभ नेपालले लिन सक्ने उनको भनाइ थियो।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्ने र सेवा प्रवाहलाई छिटोछरितो बनाउने नीति लिइरहेको जानकारी दिए। डिजिटल पूर्वाधार र दूरसञ्चारको विकासमा इजरायली अनुभव नेपालका लागि निकै उपयोगी बन्न सक्ने उनको विश्वास थियो।
मन्त्री तिमिल्सिनाले विशेष गरी सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नेपाली युवाहरूका लागि तालिम, उच्च शिक्षा अध्ययन र व्यावसायिक अनुभव साटासाट गर्ने अवसरहरू फराकिलो पार्न राजदूतसमक्ष आग्रह गरे।
भेटघाटको अन्त्यमा सूचना प्रविधि, डिजिटल रूपान्तरण र विभिन्न बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्यलाई अझै उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।













