१५ श्रावण २०८३, शुक्रबार

बिहानदेखि रातिसम्मै चल्न थाल्यो ई–पासपोर्टको सेवा



ईपीएस पासलगायत कारणले राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भीड बढेपछि विभागले दुई सिफ्टमा बिहानदेखि रातिसम्मै सेवा दिन थालेको छ।

काठमाडौँ । राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्लो समय सेवाग्राहीहरूको भिडभाड अनियन्त्रित रूपमा बढेपछि त्यसलाई व्यवस्थापन गर्न विभागले सेवा सञ्चालनको समय तालिका फेरेको छ।

दक्षिण कोरिया जाने तयारीमा रहेका ईपीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी लगायत विभिन्न कारणले राहदानी अनिवार्य भएकाहरूको सङ्ख्या अचानक बढेपछि विभागले बिहानदेखि रातिसम्मै निरन्तर सेवा दिन थालेको छ।

विभागमा पछिल्ला केही दिनयता सेवा लिन आउनेहरूको लामो लाइन देखिन थालेको छ। विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूका लागि विद्युतीय राहदानी (ई–पासपोर्ट) अपरिहार्य बन्दै गएको र कोरियाली भाषा परीक्षाका कारण राहदानीका लागि आवेदन दिनेहरूको घुइँचो बढेपछि विभागले यो कदम चालेको हो।

सेवाग्राहीको अत्यधिक दबाबलाई थाम्नका लागि विभागले अहिले दुई सिफ्टमा कार्यालय खोलेर काम गरिरहेको छ। बिहान सबेरै सुरु हुने सेवा अब रात्रिकालीन समयसम्मै जारी रहनेछ, जसले गर्दा सेवाग्राहीहरूले पालो नपाएर फर्किनुपर्ने बाध्यता केही हदसम्म टरेको छ।

कार्यालय समय मात्रै होइन, विभागले जनशक्ति र सेवाप्रवाहका संयन्त्रहरूलाई समेत पूर्ण क्षमतामा परिचालन गरेको छ। आवेदन फाराम भर्नेदेखि बायोमेट्रिक विवरण सङ्कलन गर्ने कामसम्मलाई छिटो र प्रभावकारी बनाउन कर्मचारीहरू खटिएका छन्।

यद्यपि, विभागले सेवाग्राहीहरूलाई तोकिएको मिति र समयमा मात्र कार्यालयमा उपस्थित हुन विशेष आग्रह गरेको छ। तोकिएको समयभन्दा धेरै अगाडि आएर अनावश्यक भीड जम्मा गर्दा काममा बाधा पुग्ने र सेवा प्रवाह नै सुस्त बन्न सक्ने चेतावनी विभागको छ। सेवाग्राहीको सुविधाका लागि भन्दै थालिएको यो विस्तारित समयको सदुपयोग गर्न र शान्त भएर तोकिएको पालो कुरेर सेवा लिन विभागले सबैमा अपिल गरेको छ।