यो साता समग्रमा ४९ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता समग्रमा ओरालो लाग्दै ४९.०४ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार २७ सय ३४ दशमलव ६० अंकबाट सुरु भएको बजार शुक्रबारसम्म आइपुग्दा २६ सय ८५ दशमलव ५४ अंकमा बन्द भएको हो।
साताभरको कारोबारमा सोमबारदेखि बिहीबारसम्म लगातार चार दिन बजारमा गिरावट देखियो। सोमबार नेप्से ३३ दशमलव २८ अंकले घट्दै २७०१ दशमलव ३२ अंकमा झरेको थियो भने मंगलबार पनि बजारमा दबाब कायम रहँदा परिसूचक ४ दशमलव ६४ अंकले घटेर २६ सय ९६ दशमलव ६७ अंकमा सीमित भयो।
यस्तै, लगातार तेस्रो कारोबार दिन बुधबार पनि बजार थप ७ दशमलव ७९ अंकको गिरावटसँगै नेप्से २६ सय ८८ दशमलव ८८ अंकमा पुग्यो भने बिहीबार १६ दशमलव २९ अंकले घट्दै साताकै न्यून स्तर २६ सय ७२ दशमलव ५८ अंकमा झर्यो।
यसरी लगातार ४ दिन ओरालो लागेको नेप्सेले साताको अन्तिम कारोबार दिन शुक्रबार भने केही सुधारको संकेत देखायो । अन्तिम कारोबार दिन शुक्रबार नेप्से १२ दशमलव ९६ अंकले बढेर २६ सय ८५ दशमलव ५४ अंकमा पुगेर बजार बन्द भयो। अन्तिम दिनको सुधारले बजारमा केही खरिदकर्ता सक्रिय भएको संकेत गरे पनि साप्ताहिक गिरावटलाई भने थाम्न सकेन।
यसरी यो साताभरीमा नेप्सेमा ४९.०४ अंकले गिरावट आएको हो।
यस साता बजारको समग्र प्रवृत्तिले लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन नसकेको देखाएको छ। लगातार चार दिनको बिक्री दबाबपछि अन्तिम दिन आएको सुधारलाई धेरै विश्लेषकहरूले प्राविधिक सुधारका रूपमा मात्र हेर्न सकिने बताउँछन्।
बजारले आगामी सातामा २६७०–२६८० अंक क्षेत्रलाई जोगाउन सकेमा सुधारको सम्भावना रहनेछ। तर उक्त स्तरभन्दा तल झरेमा थप दबाब देखिन सक्ने सम्भावना पनि उत्तिकै प्रबल छ ।
समग्रमा यो साता नेप्सेमा लगातार गिरावट, अन्तिम दिन सामान्य सुधार र साप्ताहिक रूपमा करिब १.८ प्रतिशतको ह्रास देखिएको छ। आगामी साता बजारको दिशा लगानीकर्ताको विश्वास, कारोबार रकम र बजारका हल्लाले निर्धारण गर्ने विश्लेषण गरिदैछ। तराइ क्षेत्रको तनावले पनि बजारको मनोविज्ञानमा असर पार्ने जोखिम छ।
कारोबार रकम पनि खुम्चियो
नेप्से परिसूचकसँगै यस साता सेयर कारोबार रकममा पनि उल्लेख्य संकुचन देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार ६ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। त्यसपछि कारोबार रकम निरन्तर घट्दै मंगलबार ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ, बुधबार ४ अर्ब २ करोड ९३ लाख रुपैयाँ र बिहीबार साताकै न्यून ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भयो।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएसँगै कारोबार रकम पनि केही बढेर ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुगेको भए पनि सोमबारको तुलनामा उल्लेख्य रूपमा कम रह्यो। साताभरमा कुल २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दैनिक औसत कारोबार रकम करिब ४ अर्ब ३३ करोड हाराहारीमा रहेको छ।
सोमबारको तुलनामा शुक्रबार कारोबार रकम २ अर्ब ३२ करोड ११ लाख रुपैयाँ (करिब ३८ प्रतिशत) ले घटेको देखिन्छ। यसले बजारमा लगानीकर्ताको सहभागिता कमजोर बन्दै गएको र खरिदकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको स्पष्ट संकेत गरेको छ।
बजार विश्लेषकहरूका अनुसार लगातार घट्दो कारोबार रकमले लगानीकर्ताले नयाँ लगानी गर्नभन्दा ’पर्ख र हेर’ को रणनीति अपनाइरहेको देखाउँछ। सामान्यतया बजारको दिगो सुधारका लागि परिसूचकसँगै कारोबार रकम पनि बढ्न आवश्यक मानिन्छ। त्यसैले अन्तिम कारोबार दिन नेप्सेमा आएको सुधारलाई कारोबार रकमले पर्याप्त साथ दिन नसकेकाले बजार अझै पूर्ण रूपमा बलियो भइसकेको निष्कर्ष निकाल्न हतार हुने विश्लेषकहरूको भनाइ छ।













