१७ श्रावण २०८३, आइतबार

देशका प्रमुख राजमार्ग अवरुद्ध, धनजनको क्षति हुनबाट जोगाउन रात्रीकालीन यात्रामा प्रतिबन्ध



काठमाडौँ। लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लालाई जोड्ने प्रमुख राजमार्ग तथा सडकहरूमा यातायात सेवा प्रभावित भएको छ। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा जोखिम बढेपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार अत्यधिक वर्षा, पहिरो र नदी कटानका कारण विभिन्न राजमार्गमा आवागमन प्रभावित बनेको हो।

प्रमुख राजमार्ग अवरुद्ध

बाढी र पहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को सडकखण्ड अत्यधिक वर्षापछि हिलाम्मे बनेकाले यातायात पूर्ण रूपमा बन्द भएको छ।अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।

यस्तै, पासाङ ल्हामु सडकखण्डमा रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक बगाएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लामासाँघु–रामेछाप सडकको दोलखास्थित तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाको कटानका कारण सवारी सञ्चालन हुन सकेको छैन।

त्यस्तै, लार्के–बेनीघाट सडक अन्तर्गत गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा कच्ची सडक अवरुद्ध भएको छ।

रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध

बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै धनजनको क्षति हुनबाट जोगाउन केही सडकखण्डमा निश्चित समयका लागि रातिको सवारी आवागमन बन्द गरिएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

त्यसैगरी, कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ। मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि बाढी, पहिरो तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा नेपाल प्रहरीबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।