१७ श्रावण २०८३, आइतबार

ब्रड पिकमा उद्धार अभियान जारी, निर्मल पुर्जासहित दिवंगत आरोहीको शव क्याम्प–१ ल्याइँदै



काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव उद्धार कार्य जारी रहेको छ। उद्धारमा संलग्न ग्राउन्ड टिमले पहिलो चरणमा शवहरू क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ।

उद्धार टोलीका अनुसार त्यसपछि सोमबार शवहरूलाई जापानी क्याम्पसम्म पुर्‍याउने योजना छ। मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

उद्धारमा संलग्न टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा निकालेर सम्मानपूर्वक स्वदेश फिर्ता गर्ने लक्ष्य रहेको जनाएको छ।

गत बिहीबार (साउन १४) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो जाँदा निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली प्रभावित भएको थियो। उक्त घटनामा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए।

शनिबार मात्र निर्मल पुर्जाको निधन भएको पुष्टि भएको थियो भने अन्य बेपत्ता आरोहीहरूको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।