१७ श्रावण २०८३, आइतबार

खराब कर्जा घट्दा आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको वित्तीय विवरणअनुसार खराब कर्जा अनुपात (एनपीएल) घट्नुका साथै खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको हो।

समीक्षा अवधिमा संस्थाले १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १३ करोड ५७ लाख रुपैयाँको तुलनामा १३.१६ प्रतिशतले बढी हो।

चुक्तापुँजी पनि वार्षिक रूपमा १४.२४ प्रतिशतले वृद्धि भई ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष ५.२५ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

आत्मनिर्भर लघुवित्तले कर्जा विस्तारलाई पनि निरन्तरता दिएको छ। गत आर्थिक वर्षमा संस्थाको कर्जा लगानी २१.३२ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

सम्पत्ति गुणस्तरमा समेत सुधार देखिएको छ। संस्थाको खराब कर्जा अनुपात १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशतमा सीमित भएको छ।

यद्यपि, पूँजीकोष अनुपात भने १७.३३ प्रतिशतबाट घटेर १५.७३ प्रतिशतमा झरेको छ। त्यसैगरी, कस्ट अफ फण्ड ७.४८ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको संस्थाले जनाएको छ।