१७ श्रावण २०८३, आइतबार

नाईमा मोबिलिटी एक्स्पोमा नयाँ ईभीको बाढी, कुन ब्रान्डको कुन मोडल आउँदै ?



काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेका छन्। विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहलाई लक्षित गर्दै चार नयाँ मोडल बजारमा आउन लागेका हुन्।

यसपटक एक्सपोमा ह्याचब्याक तथा कम्प्याक्ट क्रसओभर श्रेणीका सवारीसाधन बढी केन्द्रमा रहने देखिएको छ। आधिकारिक वितरकका अनुसार सार्वजनिक हुन लागेका अधिकांश मोडलमा ३०० किलोमिटरभन्दा बढी ड्राइभिङ रेन्ज, आधुनिक सुरक्षा प्रविधि र नयाँ पुस्तालाई आकर्षित गर्ने डिजाइन समावेश गरिएको छ।

लक्ष्मी ई–मोबिलिटीले आर्कफक्स टी १ सार्वजनिक गर्ने तयारी गरेको छ। ४२.४ किलोवाट–आवर क्षमताको ब्याट्री र ७० किलोवाट मोटर जडान गरिएको यो मोडल प्रिमियम ह्याचब्याक–क्रसओभर सेगमेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, पायोनियर मोटोकर्पले चेरी क्यूक्यू ३ बजारमा ल्याउँदैछ। ४१.२ किलोवाट–आवर ब्याट्री र ९० किलोवाट क्षमताको रियर–ह्वील ड्राइभ मोटरसहित आउने यो मोडलमा लेभल–२ एडास (Advanced Driver Assistance System) जस्ता आधुनिक सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

साङ्ग्रिला मोटर्सले लिपमोटर बी ०३ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। यो मोडल ३९.८ र ५३ किलोवाट–आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई आफ्नो आवश्यकता अनुसार रेन्ज छनोट गर्ने सुविधा दिनेछ।

त्यसैगरी, वुलिङ बिंगो ‘लाइटर प्रो’ संस्करणसहित पुनः नेपाली बजारमा कमब्याक गर्ने तयारीमा छ। ३१.९ र ३७.९ किलोवाट–आवर ब्याट्री तथा ५० किलोवाट क्षमताको मोटरसहित आउने यो मोडल इन्ट्री–लेभल ईभी बजारलाई लक्षित गरिएको छ।

हाल ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहमा बीवाईडी एट्टो १, टाटा पन्च ईभी, नामी बक्स र प्रोटोन ईमास ५ जस्ता मोडलबीच प्रतिस्पर्धा छ। नयाँ मोडल थपिएसँगै यही मूल्य समूहमा प्रतिस्पर्धा अझ तीव्र हुने र उपभोक्ताले थप विकल्प पाउने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढ्दै गएको छ। यही कारण अटोमोबाइल कम्पनीहरूले पनि एउटै मूल्य समूहमा फरक–फरक ब्रान्ड र विशेषतासहितका मोडल बजारमा ल्याउन थालेका छन्। यसपटकको नाईमा नेपाल मोबिलिटी एक्सपो पनि नयाँ ईभी सार्वजनिक गर्ने प्रमुख मञ्चका रूपमा हेरिएको छ।