भारतबाट दोहोरो अंकले बढेर आयो इन्धनको मूल्य, नेपाललाई कस्तो असर पर्ला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आएको छ। नयाँ मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले भने इन्धनको संशोधित खुद्रा बिक्री मूल्य हालसम्म सार्वजनिक गरेको छैन।
निगमका अनुसार यसपटक खरिद मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गर्न सकिने छ।
नेपाल आयल निगमले सामान्यतया आईओसीबाट हरेक महिनाको १ र १६ तारिखमा प्राप्त मूल्यसूचीका आधारमा स्वदेशी बजारमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ। आईओसीले महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ खरिद दर पठाउने व्यवस्था छ। यसपटक भारतबाट इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँभन्दा बढी अर्थात् दोहोरो अङ्कले बढेर आएको छ। यसअनुसार शुक्रबार नै नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले हालसम्म उपभोक्ताका लागि नयाँ मूल्य निर्धारण गरेको छैन।
निगमको स्वचालित मूल्य प्रणालीअनुसार प्रतिलिटर २ रुपैयाँसम्मको मूल्य समायोजन व्यवस्थापन तहबाटै गर्न सक्छ। तर, त्यसभन्दा बढी मूल्य बढाउन वा घटाउनुपर्ने अवस्थामा भने सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने कानुनी व्यवस्था छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार यसपटक आईओसीबाट आएको खरिद मूल्यमा उल्लेख्य वृद्धि भएकाले सञ्चालक समितिको स्वीकृतिबिना नयाँ मूल्य लागू गर्न मिल्दैन। बैठकबाट निर्णय भएपछि मात्रै संशोधित मूल्यसूची सार्वजनिक गरिने उनले बताए।
हाल निगमको सञ्चालक समितिको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी छन्। समितिमा अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधि, विज्ञ सदस्य, निगमका कार्यकारी प्रमुख तथा ट्रेड युनियनका प्रतिनिधिको पनि सहभागिता रहेको हुन्छ।
नेपाललाई कस्तो असर पर्ला ?
स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य उल्लेख्य रूपमा बढेर आएको छ। यही कारण नेपालमा पनि इन्धनको खुद्रा मूल्य समायोजनको तयारी भइरहेको छ।
यदि मूल्य बढाइयो भने यसको प्रभाव केवल पेट्रोल र डिजेलको खर्चमा मात्र सीमित रहने छैन। नेपालको अधिकांश ढुवानी प्रणाली पेट्रोलियम पदार्थमा निर्भर भएकाले इन्धन महँगिँदा यातायात तथा मालवाहक सेवा सञ्चालन खर्च बढ्न सक्छ। त्यसको असर खाद्यान्न, तरकारी, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्न सक्ने अर्थशास्त्रीहरूको भनाइ छ।
यस्तै, सार्वजनिक यातायात व्यवसायीले भाडा समायोजनको माग गर्न सक्ने सम्भावना पनि रहन्छ। उद्योग–व्यवसायको उत्पादन र वितरण लागत बढ्दा केही वस्तु तथा सेवाको मूल्यसमेत बढ्न सक्छ, जसले समग्र मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्छ।
यद्यपि उपभोक्तामाथि पर्ने वास्तविक प्रभाव भने नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य कति समायोजन गर्छ, सरकारले कर वा अन्य शुल्कमा कुनै हस्तक्षेप गर्छ कि गर्दैन तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आगामी दिनमा कस्तो रहन्छ भन्ने कुराहरुमा निर्भर रहनेछ।













