महुली लघुवित्तको नाफामा १०३७ प्रतिशतले उछाल, सबै सूचकमा मार्यो छलाङ्ग
काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।
समीक्षा अवधिमा संस्थाले १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख ७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको संस्थाको नाफा यस वर्ष करिब १,०३७ प्रतिशतले बढेको हो।
संस्थाको कुल सञ्चालन आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ३९ करोड ५१ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष ५३ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन करिब ३६ प्रतिशतले बढी हो। सञ्चालन नाफा पनि २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानीतर्फ पनि संस्थाले सकारात्मक वृद्धि गरेको छ। गत वर्ष ३५ करोड ५९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जसले करिब ३९.७४ प्रतिशतको वृद्धि देखाउँछ।
कर्जा तथा निक्षेप दुवैमा विस्तार भएको छ। ग्राहक कर्जा ५ अर्ब ११ करोड ७० लाख रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ, जुन २०.७ प्रतिशतको वृद्धि हो। त्यस्तै निक्षेप संकलन १८ अर्ब ३० करोड रुपैयाँबाट बढेर २० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, अर्थात् करिब १३ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८० लाख ७९ हजार रुपैयाँ व्यवस्था गरेको छ। अघिल्लो वर्ष यही शीर्षकमा १३ करोड १३ लाख रुपैयाँ छुट्याइएको थियो। खराब कर्जा (एनपीएल) अनुपात पनि १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ।
वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ४ करोड ७७ लाख रुपैयाँ थियो। वितरणयोग्य मुनाफामा भएको वृद्धिसँगै संस्थाको लाभांश क्षमता ४२.५८ प्रतिशत पुगेको छ।
प्रतिसेयर आम्दानी (ईपीएस) पनि १२.९० रुपैयाँबाट बढेर ४२.५८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२७.९१ रुपैयाँ कायम भएको छ। संस्थाको चक्तापुँजी पनि ३६ करोड ९९ लाख २३ हजारबाट बढेर ३८ करोड ७४ लाख ९४ हजार रुपैँया पुगेको छ।
त्यस्तै, संस्थाको कस्ट अफ फण्ड ७.५१ प्रतिशतबाट घटेर ६.३२ प्रतिशतमा आएको छ। सिडी रेसियो भने ११०.७१ प्रतिशतबाट बढेर ११६.४२ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।













