लिपमोटर बी–१० नेपाल आइपुग्यो, छिट्टै औपचारिक सार्वजनिक हुँदै
काठमाडौं। अत्याधुनिक एवं प्रिमियम विद्युतीय एसयूभी लिपमोटर बी–१० आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले यो बहुप्रतीक्षित विद्युतीय गाडीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बी–१० ले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको प्रभावकारी यात्रा दूरी प्रदान गर्दछ।
साथै, यसमा ५१० लिटर क्षमताको फराकिलो सामान राख्ने स्थान, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका दृष्टिले यसमा एडास लेभल–२ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित तथा बुद्धिमत्तायुक्त सवारी सञ्चालनको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
विश्वव्यापी रूपमा मासेराटी, जिप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता स्थापित गरेको छ।
चीनको नम्बर–१ नयाँ ऊर्जा सवारीसाधन (एनईभी) ब्रान्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जसमध्ये जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी सवारीसाधन बिक्री भएका थिए।
विश्वका ४० भन्दा बढी देशमा फैलिएको एक हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई सहज, भरपर्दो र विश्वसनीय स्वामित्व अनुभव प्रदान गर्दै आएको छ।













