१८ श्रावण २०८३, सोमबार

तरलताको चापले सस्तो बन्दै कर्जा, ९ बैंकको बेसरेट ५ प्रतिशत मुनि



काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलताको प्रभाव आधार दर (बेस रेट) मा पनि देखिन थालेको छ। निक्षेपको तुलनामा कर्जाको विस्तार कमजोर रहँदा बैंकहरूमा लगानीयोग्य रकम बढ्दै गएको हो। पर्याप्त तरलताका कारण निक्षेपको ब्याजदर घटेको र त्यसले बैंकहरूको कोषको लागत (कस्ट अफ फण्ड) कम गरेपछि आधार दर पनि ओरालो लागेको हो।

साउन महिनाका लागि सार्वजनिक गरिएको विवरणअनुसार अधिकांश वाणिज्य बैंकहरूले आधार दर घटाएका छन् भने दुई बैंकले मात्रै अघिल्लो महिनाकै दर कायम राखेका छन्। औसत आधार दर एक महिनामै ०.०९ प्रतिशत बिन्दुले घटेर ४.८९ प्रतिशतमा पुगेको छ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार असारमा ४.९७ प्रतिशत रहेको २० वटै वाणिज्य बैंकको औसत आधार दर साउनमा ४.८९ प्रतिशतमा झरेको हो। साउनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले भने आधार दरमा कुनै परिवर्तन गरेका छैनन्।

आधार दर कुनै पनि बैंकले कर्जा प्रवाह गर्दा निर्धारण गर्ने न्यूनतम लागतको सूचक हो। बैंकहरूले कर्जाको प्रकार, ग्राहकको जोखिम र अन्य पक्षका आधारमा आधार दरमाथि निश्चित प्रिमियम थपेर अन्तिम ब्याजदर निर्धारण गर्ने गर्छन्।

५ प्रतिशतभन्दा कम बेस रेट भएका बैंक :

साउन महिनामा राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक ,कृषि विकास बैंक र सानिमा बैंकको आधार दर ५ प्रतिशतभन्दा कम रहेको छ।

साउनमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ। बैंकको आधार दर असारको ४.२२ प्रतिशतबाट ०.०५ प्रतिशत बिन्दुले घटेर ४.१७ प्रतिशतमा कायम भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको आधार दर क्रमशः ४.२१ प्रतिशत र ४.३८ प्रतिशतमै यथावत् रहेको छ।

त्यसपछि नबिल बैंकको ४.४४ प्रतिशत, नेपाल बैंकको ४.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ४.६४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.७५ प्रतिशत, कृषि विकास बैंकको ४.७९ प्रतिशत र सानिमा बैंकको ४.९२ प्रतिशत आधार दर रहेको छ।

बैंकहरूले कर्जाको अन्तिम ब्याजदर निर्धारण गर्दा आधार दरमाथि निश्चित प्रिमियम थप्ने भएकाले आधार दर कम भएका बैंकबाट तुलनात्मक रूपमा कम ब्याजदरमा कर्जा लिन सकिने सम्भावना रहन्छ।

५ प्रतिशत भन्दा बढी बेस रेट भएका बैंक :

प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एशिया बैंकको आधार दर भने तुलनात्मक रुपमा बढी रहेको छ। यीनीहरुको आधार दर ५ प्रतिशत वा सोभन्दा माथि रहेको छ।

साउनमा सबैभन्दा उच्च आधार दर एनआईसी एशिया बैंकको ५.९१ प्रतिशत रहेको छ। त्यसपछि नेपाल एसबीआई बैंकको ५.२१ प्रतिशत, हिमालयन बैंकको ५.१९ प्रतिशत, कुमारी बैंकको ५.१७ प्रतिशत, लक्ष्मी सनराइज र एनएमबी बैंकको समान ५.११ प्रतिशत, प्राइम बैंकको ५.०७ प्रतिशत, सिद्धार्थ बैंकको ५.०५ प्रतिशत तथा सिटिजन्स र माछापुच्छ्रे बैंकको समान ५.०४ प्रतिशत आधार दर कायम छ।

आधार दर घटेसँगै नयाँ कर्जाको ब्याजदरमा पनि दबाब पर्ने अपेक्षा गरिन्छ। यद्यपि, ऋणीले तिर्नुपर्ने अन्तिम ब्याजदर भने सम्बन्धित बैंकले निर्धारण गर्ने प्रिमियम, कर्जाको प्रकृति तथा ग्राहकको जोखिम मूल्याङ्कनका आधारमा फरक–फरक हुन सक्छ।