१९ श्रावण २०८३, मंगलबार

सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ९ अर्ब माथि, नाफा ४.५४ प्रतिशतले बढ्दा लाभांश क्षमता कति ?



काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सिद्धार्थ बैंक लिमिटेडको नाफा ४.५४ प्रतिशत बढेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारका कारण खुद नाफा बढाउन सहयोग पुगेको हो। गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको फी तथा कमिसन आम्दानी पनि १७.६९ प्रतिशतले बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.५९ प्रतिशतले बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३.७८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको वितरणयोग्य नाफा भने ७.१९ प्रतिशतले घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि सामान्य बढेर २३.०६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २२.७६ रुपैयाँ थियो। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी भने ११.५३ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २२५.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष २.६२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.५३ प्रतिशत पुगेको छ। यस्तै बैंकको बेस रेट ६.४२ प्रतिशतबाट घटेर ५.०२ प्रतिशतमा आएको छ भने स्प्रेड दर ३.६९ प्रतिशत कायम भएको छ।

समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २९.८४ प्रतिशतले बढेर १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको जगेडा कोष तथा सरप्लस १०.३७ प्रतिशतले बढेर १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ कायम भएको छ।व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन १६.६६ प्रतिशतले बढेर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.०५ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुगेको छ।