राष्ट्र बैंकको सञ्चालक समितिमा ९ सदस्य राख्ने प्रस्तावप्रति अर्थमन्त्री वाग्लेको असहमति
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार विस्तार गर्ने प्रस्तावप्रति असहमति जनाउँदै हालको संरचनालाई यथावत् राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
संघीय संसद्अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले सञ्चालक समितिमा सदस्य संख्या ९ पुर्याउने प्रस्ताव उपयुक्त नदेखिएको बताए।
उनका अनुसार राष्ट्र बैंकजस्तो संवेदनशील र स्थापित संस्थाको संरचनामा पटक–पटक परिवर्तन गर्नु उचित होइन। सदस्य संख्या बढाउँदा निर्णय प्रक्रियामा जटिलता आउनुका साथै कार्यसम्पादनमा प्रभाव पर्न सक्ने भएकाले हाल कायम रहेको सात सदस्यीय संरचनालाई नै निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। उनले सात सदस्यीय समितिमा कम्तीमा एकजना महिलाको प्रतिनिधित्व भने अनिवार्य हुनुपर्ने व्यवस्था गरिनुपर्नेमा आफू सकारात्मक रहेको बताए।
अर्थमन्त्री वाग्लेले समावेशिता र विविध प्रतिनिधित्व महत्वपूर्ण भए पनि संस्थाको प्रभावकारी सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या दुईबाट तीन बनाउने प्रस्तावको पनि आवश्यकता नरहेको उल्लेख गरे।
उनले हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत रहेको उल्लेख गर्दै उनीहरू उच्च दक्षता र अनुभव भएका अधिकारी भएकाले दुई जना डेपुटी गभर्नरबाटै संस्थाको कार्य सञ्चालन प्रभावकारी रूपमा हुन सक्ने बताए।
छलफलका क्रममा अर्थमन्त्रीले राष्ट्र बैंक ऐनको दफा १०६ मा रहेको सरकारले राष्ट्र बैंकलाई प्रत्यक्ष निर्देशन दिन सक्ने व्यवस्था हटाउनुपर्ने पक्षमा समेत आफ्नो धारणा राखे। उक्त प्रावधान हटाइएमा केन्द्रीय बैंकको संस्थागत स्वायत्तता थप सुदृढ हुने उनको विश्वास थियो।
यस्तै, राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिलाई निरन्तर कायम राख्नुपर्नेमा उनले जोड दिए।
सञ्चालक समितिका सदस्यको योग्यतासम्बन्धी प्रावधानलाई भने थप व्यावहारिक बनाउनुपर्ने सुझाव दिँदै अर्थमन्त्री वाग्लेले विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) तथा संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय वित्तीय तथा विकास साझेदार संस्थामा उच्च तहमा काम गरिसकेका नेपाली विज्ञलाई पनि समेट्न सकिने गरी कानुनी व्यवस्था स्पष्ट बनाउन आवश्यक रहेको बताए।












