व्यवसायमा ग्लोबल आइएमई बैंकको फराकिलो छलाङ: खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?
काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्त (चौथो त्रैमास) सम्ममा २१ अर्ब ८० करोड ७९ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी आर्जन गर्न सफल भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँ रहेको यस्तो आम्दानीमा यस वर्ष २.६३ प्रतिशतको सकारात्मक वृद्धि देखिएको हो।
बैंकको मुख्य व्यवसायको आधार मानिने खुद ब्याज आम्दानी ३.३९ प्रतिशतले बढेर १६ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १५ अर्ब ६७ करोड २० लाख रुपैयाँ रहेको थियो।
यस्तै, बैंकले सेवा शुल्क तथा कमिसनबाट ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब २२ करोड १७ लाख रुपैयाँको तुलनामा १९.४६ प्रतिशतको उच्च वृद्धि हो। इम्पेयरमेन्ट चार्ज (इम्प्यायरमेन्ट घाटा) ४ अर्ब ७३ करोड ५३ लाख रुपैयाँबाट ४९.३५ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँमा सीमित भएपछि बैंकको नाफा सुधारमा ठूलो सहयोग पुगेको देखिन्छ।
मुख्य आम्दानी र सञ्चालन गतिमा आएको यो उछालसँगै बैंकको खुद नाफामा पनि शानदार सुधार आएको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको खुद नाफाको तुलनामा यो २२.६६ प्रतिशतको फराकिलो वृद्धि हो।
यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ११.६४ प्रतिशतले बढेर १६ अर्ब ८ करोड २१ लाख रुपैयाँ नाघेको छ।
निक्षेप संकलन र कर्जा लगानीको हिसाबले बैंक देशकै अग्रणी स्थानमा कायमै छ। असार २०८३ सम्ममा बैंकको निक्षेप संकलन १५.८५ प्रतिशतले बढेर ५ खर्ब ८९ अर्ब १७ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। यस्तै, कर्जा प्रवाह पनि १०.३२ प्रतिशतले बढेर ४ खर्ब ५९ अर्ब ४ करोड ९३ लाख रुपैयाँ (अघिल्लो वर्ष ४ खर्ब १६ अर्ब ११ करोड) पुगेको छ।
लाभांश क्षमताको दृष्टिकोणले पनि बैंकको स्थिति थप बलियो बनेको छ। नियामक निकायका विभिन्न प्राविधिक कोष र व्यवस्थापनपछि बैंकसँग ४ अर्ब ८० करोड १ लाख रुपैयाँभन्दा बढी रकम कुल वितरणयोग्य मुनाफाका रूपमा सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ६ करोड ४९ लाख रुपैयाँको तुलनामा १८.०८ प्रतिशतले बढी हो।
यसमध्ये समीक्षा वर्षको नाफाबाट मात्रै ३ अर्ब ७० करोड ३४ लाख रुपैयाँ लाभांशका लागि उपलब्ध छ। ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोष (रिजर्भ एन्ड सर्प्स) २९.५२ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
कमाइ र वित्तीय आधार फराकिलो भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट २२.६७ प्रतिशतले बढेर १६.३४ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ।
उता, बैंकको खराब कर्जा (एनपीएल) ४.६९ प्रतिशतबाट घटेर ४.५५ प्रतिशतमा झरेको छ भने आधार दर (बेस रेट) ७.५१ प्रतिशत र स्प्रेड रेट ३.२८ प्रतिशतमा सीमित भएको छ। बैंकको पुँजी कोष अनुपात १२.१९ प्रतिशत रहेको छ।













