बीवाईडीले ल्यायो सुपर लक्जरी एसयूभी याङवाङ यू८एलको विशेष संस्करण
काठमाडौँ। चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड याङवाङअन्तर्गत नयाँ विलासी एसयूभी याङवाङ यू ८ एल स्नोक्रेस्ट एडिसन बजारमा ल्याएको छ। चार सिट क्षमताको यो एसयूभीलाई कम्पनीको अहिलेसम्मकै सबैभन्दा प्रिमियम र विलासी मोडलका रूपमा प्रस्तुत गरिएको छ।
अन्तराष्टिय अटोमोटिभ न्यूज च्यानलहरुका अनुसार कम्पनीले यस रेन्ज एक्सटेन्डेड मोडलको मूल्य १.८ मिलियन युआन अर्थात् करिब २ लाख ६६ हजार ६ सय अमेरिकी डलर तोकेको छ, त्यो भनेको नेपाली रुपैयाँमा हिसाब गर्दा साढे ३ करोडको हाराहारीमा हुन आउँछ । यो अहिलेसम्मकै बीवाईडीको सबैभन्दा विलासी र प्रिमियम मोडल मानिएको छ।
गाडीको बाहिरी बनावटलाई हेर्ने हो भने, यसलाई अत्यन्तै आकर्षक सिल्भर र गोल्डन रङको समिश्रणमा तयार पारिएको छ। सबैभन्दा रोचक कुरा त के छ भने, यस गाडीको अगाडिको भागमा रहेको ब्रान्डको लोगो नै सक्कली सुनबाट बनाइएको छ! साथै सुरक्षा र आधुनिक प्रविधिका लागि यसमा उन्नत लिडार सेन्सरहरू जडान गरिएका छन्।
तर यो एसयूभीको वास्तविक जादु र राजसी ठाँट यसको भित्री भागमा देख्न सकिन्छ। गाडीको दोस्रो पंक्तिमा दुईवटा छुट्टाछुट्टै अत्यन्तै आरामदायी रोयल्टी सिटहरू राखिएका छन्। ती सिटहरूको बिचमा आधुनिक टचस्क्रिन, एउटा सानो फ्रिज र विशेष कक्षहरूसहितको ठुलो सेन्टर टनेल दिइएको छ।
करिब ५.४ मिटर लामो यो एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड इन्जिनसँगै ५६.५८ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसमा चारवटा विद्युतीय मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा ८८० किलोवाट अर्थात् करिब १ हजार १८० हर्सपावर बराबरको शक्ति उत्पादन गर्छ।
कम्पनीका अनुसार यो गाडीले करिब ३.६ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको कुल ड्राइभिङ रेन्ज करिब १ हजार किलोमिटर रहेको दाबी गरिएको छ।
यसबाहेक, याङवाङ यू८एल स्नोक्रेस्ट एडिसनमा डिसस–पी हाइड्रोलिक सस्पेन्सन प्रणाली र कार्बन सेरामिक ब्रेकजस्ता उच्चस्तरीय प्रविधि पनि प्रयोग गरिएको छ। बीवाईडीले यो मोडलमार्फत परम्परागत लक्जरी कार बजारमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको छ।













