२० श्रावण २०८३, बुधबार

एआईडिआईए–केयू साझेदारीमा एमआईएईडी कार्यक्रमको भर्ना खुला



काठमाडौं । एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडिआईए) ले काठमाडौं विश्वविद्यालय (केयू) सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र र कूटनीति’ (एमआईएईडी) विषयको स्नातकोत्तर कार्यक्रमका लागि सेप्टेम्बर २०२६ सत्रको भर्ना खुला गरेको छ।

दुई वर्षे यो कार्यक्रम अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अर्थशास्त्र, सार्वजनिक नीति तथा विश्व नेतृत्वका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ।

एआईडिआईए–एमआईएईडीका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीका अनुसार काठमाडौं विश्वविद्यालयसँगको शैक्षिक सहकार्यमा तयार गरिएको पाठ्यक्रममा अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अर्थशास्त्र, सार्वजनिक नीति, रणनीतिक अध्ययन तथा विश्व शासन प्रणालीलाई अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुसार समेटिएको छ। कार्यक्रममा नीति प्रयोगशाला, कूटनीतिक अभ्यास, वार्ता अभ्यास, अनुसन्धान, कार्यकारी संवाद तथा विभिन्न क्षेत्रका विज्ञसँग प्रत्यक्ष अन्तरक्रियामार्फत अध्ययनलाई व्यवहारिक बनाइने उनले बताए।

कार्यक्रमका डिन प्रा. इम्तियाज अहमदका अनुसार स्नातकोत्तर तहको यो कार्यक्रम चार सेमेस्टरमा सञ्चालन हुनेछ र ६० शैक्षिक क्रेडिटको हुनेछ। सम्पूर्ण कक्षा अंग्रेजी माध्यममा सञ्चालन गरिनेछ। कार्यक्रममा अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र, सुरक्षा तथा रणनीति, विश्वव्यापी चुनौती, अनुसन्धान पद्धति र नेतृत्व विकाससम्बन्धी विषय समावेश छन्।

उनका अनुसार विद्यार्थीले कक्षाकोठाको अध्ययनसँगै अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन, अध्ययन भ्रमण, थिंक ट्यांक गतिविधि, नेतृत्व कार्यशाला तथा व्यावसायिक सञ्जाल विस्तारका कार्यक्रममा समेत सहभागी हुने अवसर पाउनेछन्।

कार्यक्रममा नेपाल तथा विदेशका प्रतिष्ठित प्राध्यापक, पूर्वराजदूत, कूटनीतिज्ञ, नीतिनिर्माता, विकास विज्ञ तथा विभिन्न उद्योगका विशेषज्ञले अध्यापन गराउने संस्थाले जनाएको छ।

एआईडिआईए–एमआईएईडी कार्यक्रमका कार्यकारी उपाध्यक्ष तथा प्रमुख राजदूत डा. दुर्गा बहादुर सुबेदीका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीले परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्था, संयुक्त राष्ट्रसंघीय निकाय, क्षेत्रीय संस्था, विकास बैंक, सार्वजनिक नीति संस्था, अनुसन्धान केन्द्र, विश्वविद्यालय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय विकास क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेछन्।

सरकारी कर्मचारी, परराष्ट्र सेवाका कर्मचारी, नेपाली सेना, विकास क्षेत्रका विज्ञ, निजी क्षेत्रका नेतृत्वकर्ता, पत्रकार, अनुसन्धानकर्ता, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी, उद्यमी, सार्वजनिक नीति विज्ञ तथा स्नातक उत्तीर्ण विद्यार्थीले कार्यक्रममा आवेदन दिन सक्नेछन्।

आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। भर्ना प्रवेश परीक्षा, अन्तर्वार्ता र अन्तिम छनोट प्रक्रियामार्फत गरिनेछ। पहिलो समूहमा ४० जना विद्यार्थी मात्र भर्ना गरिने संस्थाले जनाएको छ। योग्य विद्यार्थीलाई योग्यता आधारमा छात्रवृत्ति तथा फेलोसिपको व्यवस्था पनि गरिएको छ।