चीनले विदेशी बीमामा लगाउन थाल्यो कर, प्रुडेन्सियलको शेयर मूल्य भारी गिरावट
चिनियाँ मुख्य भूमिमा अफशोर इन्स्योरेन्स पोलिसीमा व्यक्तिगत आयकर असुली सुरु भएको रिपोर्ट बाहिरिएसँगै बेलायती इन्स्योरेन्स कम्पनी प्रुडेन्सियलको शेयर मूल्यमा १३ प्रतिशतसम्मको भारी गिरावट आएको छ।
काठमाडौँ । चिनियाँ कर अधिकारीहरूले अफशोर इन्स्योरेन्स पोलिसीबाट हुने आम्दानीमा व्यक्तिगत आयकर असूल गर्न थालेको एक रिपोर्ट सार्वजनिक भएपछि बेलायती इन्स्योरेन्स कम्पनी प्रुडेन्सियलको शेयर मूल्यमा तीव्र गिरावट आएको छ।
वित्तीय प्रवाहमाथिको निगरानी कसिलो बन्दै गएको यो नवीनतम घटनाक्रमपछि बुधबार प्रुडेन्सियलको शेयर १३ प्रतिशतसम्मले ओरालो लागेको हो। सीमापार वित्तीय गतिविधिहरूमाथिको नियमन थप कडा पारिएको यो ताजा सङ्केत मानिएको छ।
चिनियाँ आर्थिक मञ्च क्याक्सिनमा प्रकाशित रिपोर्ट अनुसार बेइजिङ र हाङझाउका अधिकारीहरूले यसअघि नै यस्ता उपायहरू कार्यान्वयनमा ल्याइसकेका छन्। उनीहरूले हङकङबाट जारी भएका इन्स्योरेन्स पोलिसीहरूको आम्दानीमा २० प्रतिशतका दरले कर लगाउन थालेको उक्त रिपोर्टमा उल्लेख छ।
चिनियाँ मुख्य भूमका ग्राहकहरूबाट ठूलो हिस्साको व्यवसाय आर्जन गर्ने प्रुडेन्सियल, एआईए, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसीजस्ता संस्थाहरूलाई यसअघि मे महिनाको अन्त्यमा बेइजिङले चालेको सीमापार लगानीसम्बन्धी कडा कदमले पनि प्रभावित पारेको थियो।
सन् २०२५ मा प्रुडेन्सियलका लागि हङकङ सबैभन्दा ठूलो नाफा आर्जन गर्ने बजार साबित भएको थियो।
शेयरमा ऐतिहासिक गिरावट
यस नयाँ घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्दा प्रुडेन्सियल कम्पनी भने तत्काल सम्पर्कमा आउन नसकेको भनेर अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । कारोबारको अन्त्यतिर कम्पनीको शेयर १२ प्रतिशतले घटेको देखिएको थियो।
मार्च २०२३ यताकै यो सबैभन्दा ठूलो एकदिने गिरावट हो भने यससँगै कम्पनीको यस वर्षको समग्र घाटा १५ प्रतिशतभन्दा माथि पुगेको छ। चिनियाँ मुख्य भूमिको कर असुली अभियान साझा रिपोर्टिङ मापदण्ड अन्तर्गतको डाटा साझेदारीका कारण सम्भव भएको क्याक्सिनले जनाएको छ।
यस व्यवस्थाले मुख्य भूमिको कर अधिकारीहरूलाई विदेशमा रहेका पोलिसीका विवरणहरू ट्र्याक गर्न सहज बनाएको र आगामी दिनमा यस्तो नियमन अझै कडा हुने अपेक्षा गरिएको छ।













