२१ श्रावण २०८३, बिहिबार

धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकमा दर्शनार्थी बढेपछि केबुलकारको नाफा शतप्रतिशतभन्दा बढीले उकालो



दोलखाको पर्यटकीय धाम कालिन्चोकमा दर्शनार्थीको संख्या बढेसँगै त्यहाँ सञ्चालित केबुलकारको खुद नाफा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

काठमाडौँ । दोलखास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिन्चोकमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै त्यहाँ सञ्चालित केबुलकारको आम्दानी र नाफामा ठूलो सुधार देखिएको छ।

कालिन्चोक दर्शन लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीमा राम्रो वृद्धि भएको छ।

समीक्षा अवधिमा केबुलकार तथा त्यससँग सम्बन्धित सेवा सञ्चालन गरेर कम्पनीले ८ करोड ५९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको ७ करोड ६३ लाख ६१ हजार रुपैयाँको तुलनामा १२ दशमलव ५५ प्रतिशतले बढी हो।

धार्मिक पर्यटकको आवगमनमा आएको सुधारले नै कम्पनीको मुख्य व्यवसायलाई टेवा पुर्‍याएको देखिन्छ।

कम्पनीको खुद नाफामा भने अझ आकर्षक वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ८१ लाख २० हजार रुपैयाँ रहेको खुद नाफा १०५ दशमलव १४ प्रतिशतले बढेर ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन नाफातर्फ भने केही कमी आएको छ। अघिल्लो वर्ष ३ करोड ७३ लाख ९ हजार रुपैयाँ रहेको सञ्चालन नाफा घटेर ३ करोड १६ लाख ३ हजार रुपैयाँमा झरेको छ। तर, मुख्य व्यवसायबाहेकका अन्य स्रोतबाट हुने आम्दानीमा भारी वृद्धि भएकाले खुद नाफा दोब्बरभन्दा बढी हुन पुगेको हो।

अघिल्लो वर्ष जम्मा १६ लाख ४८ हजार रुपैयाँ मात्र रहेको अन्य आम्दानी समीक्षा अवधिमा ह्वात्तै बढेर ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

ऋणको भार घट्दा वित्तीय स्थिति बलियो

कम्पनीले आफ्नो वित्तीय व्यवस्थापनमा पनि सुधार ल्याएको छ। बैंकको ऋण तथा ब्याज भुक्तानीबापत हुने खर्च अघिल्लो वर्ष ९२ लाख २७ हजार रुपैयाँ रहेकोमा यसपालि ५१ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्च घट्नुले पनि खुद नाफा बढाउन सहयोग पुर्‍याएको हो।

यसैगरी दीर्घकालीन ऋणको भार पनि उल्लेख्य रूपमा घटाइएको छ। अघिल्लो वर्ष ४ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको दीर्घकालीन दायित्व यस वर्ष १ करोड ५३ लाख ७७ हजार रुपैयाँमा झरेको छ।

६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष पनि सबल बन्दै गएको छ। अघिल्लो आर्थिक वर्ष ३ करोड १९ लाख रुपैयाँ रहेको जगेडा कोष बढेर ५ करोड ८० लाख १२ हजार रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल सम्पत्तिको आकार ७७ करोड १९ लाख रुपैयाँ कायम भएको छ।