के लागुऔषधको बढ्दो कारोबारले नेपाललाई नयाँ सुरक्षा जोखिममा धकेल्दै छ ?
तीव्र रूपमा बढ्दै गएको लागुऔषधको कारोबार र युवापुस्तामा फैलिँदो दुर्व्यसनीले देशको उत्पादकत्व तथा सामाजिक स्वास्थ्यमा गम्भीर संकट त निम्त्याउँदै नै छ, साथसाथै राष्ट्रिय सुरक्षामाथि पनि ठूलो चुनौती खडा गर्ने दिशातर्फ अघि बढेको देखिन्छ।
काठमाडौँ । गएराति १ बजे चितवनको मुग्लिनबाट २० किलो चरेससहित दुई जना पक्राउ परे । प्रहरीले ४० वटा पोकामा रहेको चरेस बोकेर हिँडिरहेका मकवानपुरका मोहन गोले (४१) र भीमबहादुर स्याङ्तान (३९) लाई पक्राउ गरेको जनाएको छ ।
उता मोरङको धनपालथानमा पनि गएराति नै ९६ किलो १ पाउ गाँजासहित २ जना पक्राउ परे । नेपालबाट भारततर्फ गाँजा लैजान लागेको सुराकी पाएपछि प्रहरीले सुमन कुमार शाह र अमर शाहलाई पक्राउ गरेको थियो भने उनीहरुले भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा ३ वटा पोकामा लुकाई राखेको गाँजा पनि बरामद गरेको छ ।
- थाइल्यान्डबाट गाँजा बोकेर आएका ३ जना भारतीय विमानस्थलमा पक्राउ
- कस्मेटिक सामानभित्र गाँजा
- धनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ
- सप्तरीमा ३३३२.४६ किलो गाँजा बरामद
- सिरहाको लहानमा नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ
- धनकुटामा एकै दिन ७९५ किलो गाँजा बरामद, दुई जना पक्राउ
- सुनसरीको केराबारी र भाण्टाबारीको बीचमा कोशीमा बगिरहेको ३०८ किलो गाँजा मध्येराती बरामद
- रुकुम पश्चिमबाट ३ किलो अफिम (चोप) सहित २ जना पक्राउ
- मिनीट्रकको छतमा फल्स बटम बनाई लुकाएको ४५४ किलो गाँजा सहित १ जना पक्राउ
- खैरो हेरोईन ५०.५० ग्राम सहित १ जना पक्राउ
- लागु औषध खैरो हेरोईन २३.९३ ग्राम सहित २ जना पक्राउ
- लागु औषध एम्पुल ११९२ सहित पोखराबाट २ जना पक्राउ
- खैरो हेरोईन १०४ ग्राम सहित विराटनगरबाट १ जना पक्राउ
- सिराहामा गोली प्रहार गरी २४३ ग्राम खैरो हेरोईन सहित ६ जना पक्राउ
पछिल्ला केही दिनमा मिडियाका ‘हेडलाइन’ प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका खबरको यस्तो सूची अझै लामो छ । यी घटनाहरुले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग निकै व्यापक रुपमा बढेको देखिन्छ ।
भयावह आँकडा
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ५ हजार ७९१ वटा मुद्द दर्ता भएका छन् । यो हालसम्मको सबैभन्दा उच्च आँकडा हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६१ र त्योभन्दा अघिल्लो साल ४ हजार ३९९ वटा मुद्दा दर्ता भएका थिए । यस्ता घटनामा पक्राउ पर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रुपमा बढ्न थालेको छ ।
गत आर्थिक वर्ष कुल ९ हजार २९२ जना पक्राउ पर्दा ८ हजार ४५२ जना पुरुष र ४६५ जना महिला गरी ८ हजार ९१७ जना नेपाली नागरिक पक्राउ परेका छन् । दुई वर्ष अघि ६७ सय जना पक्राउ परेकोमा २०८१/८२ मा आउँदा ७८९० जना पक्राउ परेका थिए ।

यी तथ्याङ्कले मुद्दा र पक्राउ संख्या दुबैको आँकडा लगातार उकालो लागिरहेको देखाउँछन् । योभन्दा खतरनाक कुरा त, गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन बाहेक एम्पुल, ट्रामाडोल र अन्य औषधिजन्य नियन्त्रित लागुऔषध बरामद हुने आँकडा पनि बढ्दो छ ।
यसले प्राकृतिक स्रोतबाट प्राप्त हुने लागुऔषधका साथै अब औषधिजन्य लागुऔषधको प्रयोग झन् बढ्न थालेको प्रहरीको यो तथ्याङ्कले देखाउँछन् ।
वि.सं. २०७६ मा भएको पछिल्लो लागुऔषध प्रयोगकर्ता सर्वेक्षणले नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखाएको थियो । त्यसमध्ये ७० प्रतिशत प्रयोगकर्ताहरु २० देखि ३० वर्ष उमेर समूहभित्रका थिए ।
सोही अध्ययनका आधारमा सुई मार्फत् लागुऔषधको सेवन गर्ने व्यक्तिहरुको संख्या देशभर करीव ३५ देखि ४० हजार आसपास रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत लोकराज पाण्डेय बताउँछन् ।
तर यस क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका अनुसार उक्त अध्ययन भएयता देशका प्रमुख शहरी क्षेत्रमा सुईद्वारा लागुऔषध सेवन गर्नेको संख्या पनि उल्लेख्य मात्रामा बढेको पाइने बताउँछन् ।

अहिले गृह मन्त्रालयबाट अनुमति लिएर २५० हाराहारी संघसंस्थाले लागुऔषधको कुलतमा फसेका व्यक्तिहरुका लागि काम गरिरहेका छन् । यस्ता संस्थाका प्रतिनिधीहरुको कुरा मान्ने हो भने काठमाडौँ उपत्यकादेखि तराईका थुप्रै स्थानमा सुईको प्रयोग बढेको यसले एचआईभी एड्स, हेपाटाइटिस जस्ता जटिल रोगको जोखिम बढ्दै गएको बताइरहेका छन् ।
प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएका घटनाको मात्रै कुरा गर्ने हो भने पछिल्ला ३ वर्षमा कोशी र मधेश प्रदेशमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको देखिन्छ । काठमाडौँ उपत्यका, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा पनि यस्तो आँकडा उच्च छ ।

जिल्लागत विवरणहरु हेर्दा काठमाडौँ, कैलाली, मोरङ, झापा, सुनसरी, पर्साजस्ता जिल्लामा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । कञ्चनपुर, मकवानपुर, बाँके, चितवन जस्ता जिल्लामा पनि मुद्दाको रफ्तार बढ्दै गएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांकमा देखिन्छ ।
यसको अर्को डरलाग्दो पक्ष भनेको नेपाल क्रमश: अझ ठूलो ‘ट्राञ्जिट’का रुपमा देखिँदै गएको छ । नेपालमा अमेरिका, क्यानडा र थाइल्याण्डजस्ता मुलुकबाट गाँजा तस्करी हुने गरेको देखिएका छन् । दुखाई कम गर्न प्रयोग हुने अवैध फर्मास्युटिकल ओपिओइड ट्रामाडोलको तस्करीको आँकडाले पनि यसलाई स्पष्ट पार्छ ।

इपिसेन्टर : तराई
नेपाल प्रहरीको आधिकारिक तथ्यांकहरुभन्दा भिन्न अर्कै दस्तावेज सशस्त्र प्रहरीसँग पनि छ । सशस्त्रले गएको आर्थिक वर्षमात्रै १६ हजार किलोभन्दा धेरै गाँजा बरामद गरेको छ । जुन, अघिल्लो साल १४ हजार किलोभन्दा बढी थियो ।
तर सशस्त्रको आँकडाले भने चक्की र तरल स्वरुपमा भित्रिने लागुऔषध भने गएको आर्थिक वर्षभन्दा अघिल्लो वर्ष नै कीर्तिमानी स्तरमा पुगेको थियो । ‘ओसारपसारमा कति आयो र कति गयो भन्ने विवरण प्राप्त हुन सक्दैन । पक्राउ (बरामद) परेको प्रवृत्ति हेर्दा उल्लेख्य रुपमा परिस्थिति बदलिएको नभएर नियमित रुपमा उस्तैउस्तै स्थिति रहेको देखिन्छ,’ सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीले भने ।
उनले लामो समयदेखि कोशी र मधेश प्रदेशका सीमावर्ती जिल्लाबाट भारततर्फ गाँजा जाने र उताबाट ‘फ्याक्ट्री मेड’ लागुऔषधहरु आउने प्रवृत्ति उस्तै प्रकारको देखिने बताए । पश्चिम तराईको हकमा गाँजा नेपालबाट जाने प्रबृत्ति पहिलेदेखि नै कम छ । तर भारततर्फबाट लागुऔषध तस्करी भएर आउने प्रबृत्ती भने उसैगरी बढिरहेको उनले बताए ।
तर, हालका दिनमा प्रहरीको सक्रीयता बढेका कारण पक्राउका घटना पनि बढेको आफूहरुको विश्लेषण रहेको कार्की बताउँछ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेको भनाइ पनि उनीसँग मिल्दोजुल्दो छ ।
‘हामीले कार्यसम्पादन सूचकमा समेत लागुऔषध पक्राउ र बरामदको विषयलाई प्रमुख प्राथमिकतामा राखेका छौँ । दोस्रोकुरा, संगठन प्रमुख ज्यू पदबहाली भएर आएपछि यसलाई पहिलो प्राथमितामा राखेर विशेष अभियानको रुपमा लानुपर्छ भन्ने निर्देशन छ’, काफ्ले भन्छन् ।
प्रहरी प्रमुख दानबहादुर कार्कीले लिखितदेखि भर्चुअलसम्मका माध्यमद्वारा पटक पटक निर्देशन दिएको र देशव्यापी रुपमै प्रहरी सक्रीयता बढेका कारणले पक्राउ, बरामद र मुद्दा बढेको प्रवक्ता काफ्लेले बताए ।
के लिन्छन् नेपाली ड्रगिस्ट ? (२०७६ सालको सर्वेक्षण नतिजा)

राष्ट्रिय सुरक्षामा खतरा ?
हालैमात्र तराईमा भएको आन्दोलन र गत साल भदौमा काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा पनि कतिपय विध्वंशात्मक गतिविधी बढाउनमा पनि मदिरा र लागुऔषध दुव्र्यसनी एक ‘उत्प्रेरक’ बनेको फिल्डमा खटिने प्रहरीहरुको बुझाई थियो ।
त्यसरी हेर्दा यस्ता नसालु पदार्थको सेवनले मुलुकभित्र हिंसा भड्काउन र अन्तत: राष्ट्रिय सुरक्षामै असर पार्न सक्ने भन्दै सुरक्षा विज्ञहरुले सचेत गराउँदै आएका छन् । यद्यपि, आन्दोलनका क्रममा लागुऔषधको प्रयोगले उत्प्रेरक बनेको विषयमा नेपाल प्रहरीका प्रवक्ता काफ्लेले घुमाउरो जवाफ दिए ।
‘त्यो विषयमा हामी बुझ्दै छौँ । कोही त्यस्तो अवस्था फेलापर्ने स्वभाविक हो, हुन्छन्’, उनले भने, ‘त्यतातिर जोड्ने भन्दा पनि यसको अवैध कारोबार गर्ने, उत्पादन गर्ने जस्ता कुरामा नेपाल प्रहरीले गम्भीर रुपमा लिएको छ ।’
लागुऔषध दुव्र्यसनको फैलावट नेपालको राष्ट्रिय सुरक्षाका लागि कति जोखिमपूर्ण छ भन्नेमा प्रहरी अधिकारीहरु सतर्क भएर जवाफ दिन्छन् । ‘हिजोको परम्परागत राष्ट्रिय सुरक्षाका मानकहरुभन्दा अलि अघि बढेर सोच्दा मानवीय सुरक्षाको सवालमा यो समस्या जोखिमपूर्ण छ’ सशस्त्र प्रहरी प्रवक्ता कार्की भन्छन् ।
‘युवा र सिंगो समाजलाई लागुऔषधबाट जोगाउनु पर्ने दायित्व अहिलेको मानव सुरक्षा र राष्ट्रिय सुरक्षाभित्रको महत्वपूर्ण पाटो हो’ कार्कीले थपे, ‘हाम्रा युवाहरु दिनानुदिन लागुऔषधको दलदलमा फस्दै गएको प्रवृत्ति हेर्न पाइन्छ । हाम्रा युवापुस्ता आज पनि जोखिममा छन् ।’

हुन पनि यसअघि भएका तीन वटा लागुऔषध सर्वेक्षणहरुको तथ्यांक केलाउँदा २०६३ सालमा ४६ हजार जति रहेका लागुऔषध प्रयोगकर्ताको संख्या त्यसपछिको १३ वर्षमा १ लाख ३० हजारभन्दा माथि पुगेको देखाएको छ ।
तर विगत ७ वर्षदेखि नेपालमा यस्तो सर्वेक्षण भएको छैन । यसबीच ५.०६ प्रतिशतको पुरानै बृद्धिदर कायम भयो भने पनि लागुऔषद प्रयोगकर्ताको कुल संख्या १ लाख ८५ हजार हाराहारी पुगेको हुनसक्छ । तर २०६३ देखि २०६९ का बीचमा जस्तो ११ प्रतिशतभन्दा माथिको बृद्धिदर कायम हुन पुग्यो भने अहिलेसम्म आउँदा २ लाख ७५ हजारभन्दा बढी नेपाली दुव्र्यसनीमा फसेको हुनसक्ने जोखिम छ ।
परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई चार वटा आयाममा हेरिन्छ । राजनीति/कूटनीति, सैन्य सुरक्षा, आर्थिक सुरक्षा र सामाजिक/सांस्कृतिक सुरक्षा यसका मूलभूत स्तम्भ हुन् ।
तर कुनै पनि राज्यको मेरुदण्ड मानिने युवा जनशक्तिलाई यसले शारीरिक र मानसिक रुपमा कमजोर पार्छ र समग्र उत्पादकत्व नै खस्किने अवस्थामा पुर्याउँछ । यस्ता गतिविधीले संगठित अपराधहरु बढाउने, चोरी, डकैती, लुटपाटजस्ता हिंसात्मक गतिविधी बढ्ने र मुलुकको राष्ट्रिय सम्पत्ति नै यस्ता हानिकारक पदार्थको खरीदमा खर्च हुने अवस्था आउँछ ।
अझ, यस्तो स्थिति बढ्दै गयो भने समाजमा स्वास्थ्य संकट त निम्तिन्छ नै, राज्यले ज्यादै ठूलो स्रोत पुन:स्थापना, उपचार र सुरक्षा संयन्त्रमा खर्चनुपर्ने हुन्छ ।
अहिले मेक्सिकोदेखि कतिपय देशमा यो विषय धेरै ठूलो मुद्दा बनिसकेको उदाहरण दिँदै प्रहरी प्रवक्ता काफ्ले भन्छन्, ‘लागुऔषधको कारोबार बढ्दै गयो, वैश्विक रुपमा नेपालको छबि खस्किँदै गयो र दुव्र्यसनी बढ्यो भने त्यसले राष्ट्रिय सुरक्षामा गम्भीर खलल पुर्याउँछ । त्यसैले हामीले यसलाई संवेदनशील रुपमा लिएका छौँ ।’













