सुत्केरी हुन अमेरिका जाने सुविधा अन्त्य, ट्रम्पले जारी गरे नयाँ कार्यकारी आदेश
अमेरिकामा जन्मसिद्ध नागरिकता सीमित गर्न राष्ट्रपति ट्रम्पले ल्याए दुई नयाँ कार्यकारी आदेश, ‘बर्थ टुरिजम’ माथि पूर्ण प्रतिबन्ध।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएकै भरमा नागरिकता दिने व्यवस्थालाई कडाइ गर्दै नयाँ कदम चालेका छन्। सर्वोच्च अदालतबाट अघिल्लो प्रयास असफल भएपछि ट्रम्पले पछिल्लोपटक दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
यससँगै विदेशी नागरिकहरूले अमेरिका पुगेर बच्चा जन्माउने र त्यसैका आधारमा नागरिकता दिलाउने अभ्यासमाथि अंकुश लागेको छ।
व्हाइट हाउसको ओभल अफिसबाट सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार अब सबै नवजात शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्। पहिलो कार्यकारी आदेशले नागरिकता नपाउने अवस्थाको दायरा फराकिलो बनाएको छ।
जसअनुसार बच्चा जन्माउने बाबु र आमा दुवै अमेरिकी नागरिक नभएको खण्डमा र तीमध्ये कोही पनि आतंकवादी संगठन, विदेशी सरकारका कर्मचारी, कागजातमा फर्जी काम गरेका व्यक्ति वा कानुनले तोकेका निषेधित क्षेत्रका बासिन्दा भए त्यस्ता शिशुले स्वतः नागरिकता प्राप्त गर्ने छैनन्।
ट्रम्प प्रशासनले लामो समयदेखि उदार आप्रवासन नीतिको फाइदा उठाइएको गुनासो गर्दै आएको छ। विशेषगरी रुस र चीनका नागरिकले यस व्यवस्थाको नाजायज फाइदा उठाएको ह्वाइट हाउसको ठहर छ। राष्ट्रपतिको यो कदम धेरै पहिले नै चालिनुपर्ने तर ढिलै भए पनि कार्यान्वयनमा ल्याइएको ट्रम्पले बताए।
‘बर्थ टुरिजम’ माथि प्रतिबन्ध
ट्रम्पले ल्याएको दोस्रो कार्यकारी आदेशले विशेषगरी ‘बर्थ टुरिजम’ लाई निसाना बनाएको छ। पर्यटक वा अन्य कुनै पनि आगन्तुक भिसामा अमेरिका पुगेर सुत्केरी हुने र बच्चालाई अमेरिकी नागरिक बनाउने अभ्यास अब गैरकानूनी बन्नेछ।
व्हाइट हाउसका होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले आप्रवासन तथा राष्ट्रियता ऐनले राष्ट्रपतिलाई अमेरिका प्रवेशमा रोक लगाउने अधिकार दिएकाले यो अभ्यास रोक्न सकिने तर्क गरेका छन्।
ट्रम्पले भने यसरी जन्मने बालबालिकाको संख्या लाखौंमा रहेको दाबी गर्दै आएका छन्। यद्यपि, अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटको तथ्यांकले भने यो संख्या निकै कम रहेको देखाएको छ। संस्थाका अनुसार सन् २०२४ मा मात्रै बाहिरी देशबाट आएका आमाहरूबाट अमेरिकामा करिब ९ हजार ६ सय शिशु जन्मिएका थिए।
कानुनी जटिलता
सन् २०२५ मा दोस्रो कार्यकाल सम्हालेलगत्तै ट्रम्पले संविधानको चौधौं संशोधनअन्तर्गतको जन्मसिद्ध नागरिकता खारेज गर्न खोजेका थिए। तर, गत जुन महिनामा सर्वोच्च अदालतले उनको सो प्रयासलाई असंवैधानिक भन्दै रोकदिएको थियो। अदालतको सो निर्णयलाई ट्रम्पले अन्यायपूर्ण भन्दै आएका छन्।
नयाँ कार्यकारी आदेशले फेरि एकपटक ठूलो कानुनी विवाद निम्त्याउने संकेत देखिएको छ। कानुनविद् गेब्रियल चिनका अनुसार भिसा लिएर अमेरिका प्रवेश गर्ने विषयमा राष्ट्रपतिले केही सीमा तोक्न सक्ने भए पनि अमेरिकाको भूमिमै जन्मिसकेका बच्चालाई नागरिकता नदिने अधिकार भने ट्रम्पसँग नरहन सक्छ।
कुल जन्मदरको तुलनामा यो समस्या अति न्यून रहेको विज्ञहरूको भनाइ छ।













