२२ श्रावण २०८३, शुक्रबार

डिजिटल सेवाले फेरियो कर्मचारी सञ्चय कोषको सुर्खेत शाखाको दृश्य, अनलाइनमै लिन थाले अधिकांश सेवा



काठमाडौं । कुनै समय सेवाग्राहीको भीडले भरिने कर्मचारी सञ्चय कोषको सुर्खेत शाखामा पछिल्लो समय भने चाप घटेको छ । बिहीबार दिउँसो करिब १ बजे कार्यालय पुग्दा कोष परिसर सुनसानजस्तै देखिन्थ्यो । कोषकट्टी रकम भुक्तानी लिन केही सेवाग्राही मात्र काउन्टरमा थिए भने सञ्चयकर्ताका लागि राखिएको कम्प्युटरमा एक जना सेवाग्राही भौचर इन्ट्रीको प्रतीक्षामा देखिन्थे ।

प्रतिक्षालयका अधिकांश कुर्सी खाली थिए । कर्मचारीहरू भने कम्प्युटरमार्फत सेवाग्राहीका काममा व्यस्त देखिन्थे । कार्यालयका अनुसार यस्तो अवस्था बिहीबार मात्र नभई पछिल्ला अधिकांश दिनमा देखिन थालेको छ ।

कोषका सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध हुन थालेपछि कार्यालयमा प्रत्यक्ष आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा घटेको हो । कोषले कोरोना महामारीका समयमा २०७७ जेठदेखि अनलाइन सापटी सेवा सुरु गरेको थियो । त्यसपछि क्रमशः अन्य सेवासमेत डिजिटल प्रणालीमा लैजाँदै आएको छ ।

हाल कोषको वेबसाइट तथा मोबाइल एपमार्फत खाता खोल्ने, केवाईसी विवरण अद्यावधिक गर्ने, फाँटवारी दाखिला गर्ने, स्टेटमेन्ट हेर्ने र सापटी लिनेजस्ता सुविधा उपलब्ध छन् । आफ्नो फाइल स्वीकृत भए–नभएको तथा फाइल कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत अनलाइनबाटै हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसका कारण सञ्चयकर्ताले कार्यालयमै उपस्थित नभई घर वा कार्यस्थलबाटै अधिकांश सेवा लिन सक्ने भएका छन् ।

सुर्खेत शाखाका निमित्त कार्यालय प्रमुख राजेन्द्र विक्रम केसीका अनुसार सुत्केरी तथा शिशु स्याहार खर्च र स्वास्थ्य उपचार शोधभर्नाजस्ता सुविधाका लागि पनि सेवाग्राहीले अनिवार्य रूपमा कार्यालय आउनुपर्ने अवस्था छैन । आवश्यक फाराम भरी तोकिएका कागजात संलग्न गरेर कार्यालयमा पठाएपछि फाइल रुजु गरी स्वीकृत रकम सिधै सञ्चयकर्ताको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै, कोषलाई बुझाउनुपर्ने सापटी तथा ब्याज रकमसमेत मोबाइल एप, मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ । अघिल्लो आर्थिक वर्षदेखि अवकाशप्राप्त सञ्चयकर्ताले पाउने मुनाफा, ब्याज तथा छुट रकमसमेत सिधै बैंक खातामा पठाउने व्यवस्था गरिएको केसीले जानकारी दिए ।

डिजिटल सुविधा विस्तार भए पनि केही सञ्चयकर्ता अझै सापटीलगायतका सेवाका लागि कार्यालयमै पुग्ने गरेका छन् । गत आर्थिक वर्षमा सुर्खेत शाखाले एक हजार ६०८ जना सञ्चयकर्तालाई भौतिक उपस्थितिमै कोष रकमको धितोमा विशेष सापटी उपलब्ध गराएको थियो ।

तर सोही अवधिमा कर्णाली प्रदेशका करिब १४ हजार सञ्चयकर्ताले कार्यालयमा उपस्थित नभई अनलाइनबाट आवेदन दिएर आफ्नो बैंक खातामै सापटी रकम प्राप्त गरेका थिए ।

कोषले आफ्नै वेबसाइट र मोबाइल एपसँगै नागरिक एप तथा विभिन्न बैंकिङ एपमार्फत समेत सेवा लिन सकिने व्यवस्था गरेको छ । वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री सुविधा पनि थप गरिएको केसीले बताए ।

आर्थिक वर्ष २०८१/८२ सम्म निवृत्तिभरण कोषसहित कर्मचारी सञ्चय कोषमा कुल ६ लाख ७४ हजार योगदानकर्ता आबद्ध थिए । त्यतिबेलासम्म ३७ हजार ५०० कार्यालयले आफ्ना कर्मचारीको कोषकट्टी रकम कोषमा पठाउँदै आएका थिए ।

चालु आर्थिक वर्षको सुरुवाती २० दिनमै थप ८४ संस्थाले कोषसँग सम्झौता गरेका छन् । ती संस्थाबाट एक अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भइसकेको छ ।

यस्तै, पछिल्लो तीन सातामै ती कार्यालयका ११ हजारभन्दा बढी नयाँ योगदानकर्ताले कोषको कार्यालयमा उपस्थित नभई अनलाइनमार्फत केवाईसी अद्यावधिक गरी सञ्चय कोष नम्बर प्राप्त गरेका छन् । उनीहरूको कोषकट्टीसमेत सुरु भइसकेको कोषले जनाएको छ ।

कोषका अनुसार सूचना प्रविधि विभागले विकास गरेको डिजिटल प्रणालीका कारण छोटो समयमै हजारौं योगदानकर्तालाई कार्यालयमा नआई खाता खोल्न, फाँटवारी दाखिला गर्न तथा विभिन्न सेवा सहज र सुरक्षित रूपमा लिन सम्भव भएको हो ।

यसरी डिजिटल सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कार्यालयमा देखिने सेवाग्राहीको भीड क्रमशः घट्दै गएको छ भने सेवा प्रवाह भने कार्यालयको भौतिक उपस्थितिभन्दा बाहिर विस्तार हुँदै गएको देखिन्छ ।