याडियाले नेपालमा ल्यायो तीन नयाँ इलेक्ट्रिक स्कुटर, २२० किमीसम्म रेन्ज
काठमाडौं । नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीन नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले याडिया एनटी५०, एनटी६० र एनटी९० मोडल नेपाली बजारमा भित्र्याएको हो ।
नयाँ स्कुटरहरू फरक–फरक प्रयोग र ग्राहकको आवश्यकतालाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ । दैनिक सहरी यात्रादेखि लामो दूरी र उच्च प्रदर्शन चाहने ग्राहकसम्मलाई लक्षित गरी यी मोडल विकास गरिएको बताइएको छ ।
याडिया एनटी५० मा २.१ किलोवाट आवरको ब्याट्री र २.८ किलोवाटको पीक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । दैनिक आवतजावतलाई सहज र किफायती बनाउने उद्देश्यले यो मोडल बजारमा ल्याइएको हो ।
लामो दूरीका लागि लक्षित एनटी६० मा ५.७ किलोवाट आवरको डुअल ब्याट्री प्रणाली छ । यसमा ३.६ किलोवाट आवरको फिक्स्ड र २.१ किलोवाट आवरको रिमुभेबल ब्याट्री प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार एनटी६० ले एकपटक चार्जमा २२० किलोमिटरसम्म रेन्ज दिन सक्छ । रिमुभेबल ब्याट्रीका कारण चार्जिङमा थप लचकता हुने कम्पनीको दाबी छ ।
याडियाको प्रिमियम सेग्मेन्टमा राखिएको एनटी९० मा ३.६ किलोवाट आवरको लिथियम ब्याट्री र ५ किलोवाटको पीक मोटर रहेको छ । यसले अधिकतम ८० किलोमिटर प्रतिघण्टाको गति र १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइनसँगै उच्च प्रदर्शन र आरामदायी राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गरेर एनटी९० ल्याइएको हो ।
तीनै मोडलमा स्मार्ट प्रविधिलाई प्राथमिकता दिइएको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ र याडिया स्मार्ट एप कनेक्टिभिटीजस्ता सुविधा उपलब्ध छन् ।
त्यस्तै, ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र डुअल ड्राइभ ब्रेकिङ सिस्टमलगायतका सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
याडियाले नयाँ तीनै मोडलको ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ । यसले ग्राहकलाई ब्याट्रीको दीर्घकालीन प्रयोगमा थप भरोसा दिने कम्पनीको अपेक्षा छ ।
नयाँ स्कुटरहरू हाल नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरशिपमार्फत उपलब्ध हुनेछन् । कम्पनीले आगामी दिनमा डिलर तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने जनाएको छ ।
लन्चको अवसरमा कुजु नेपालले नाडा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडलमा १० हजार रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ । ग्राहकले आधिकारिक शोरुमबाट स्कुटर अवलोकन तथा टेस्ट राइड गर्नुका साथै फाइनान्सिङ र स्वामित्वसम्बन्धी जानकारी लिन सक्नेछन् ।













