दुबईकाे चर्चित पर्फ्युम्स ब्राण्ड ‘जमजम’ नेपाली बजारमा, सिभिल मलबाट सुरु हुँदैछ विश्वव्यापी २५औँ आउटलेट
दुबईको लोकप्रिय सुगन्धित उत्पादन ब्रान्ड ‘जमजम पर्फ्युम्स’ले नेपाली बजारमा आधिकारिक यात्रा सुरु गरेको छ भने उद्घाटनका लागि सामाजिक सञ्जालमा चर्चित ‘जमजम दाजुभाइ’ काठमाडौं आइपुगेका छन्।
काठमाडाैँ । दुबईको चर्चित सुगन्धित उत्पादन ब्रान्ड ‘जमजम पर्फ्युम्स’ औपचारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। जमजम पर्फ्युम्स नेपाल प्रालिको पहलमा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा कम्पनीको पहिलो आधिकारिक आउटलेट सञ्चालनमा आउने भएको छ।
सिभिल मलको पसल नम्बर १०१ मा स्थापित यस आउटलेटको शनिबार मध्याह्न १२ बजे विशेष समारोहबीच उद्घाटन हुँदैछ। यससँगै अन्तर्राष्ट्रियस्तरका विलासी सुगन्धहरू खोज्ने नेपाली उपभोक्ताका लागि भरपर्दो र आधिकारिक माध्यम तयार भएको छ।
नयाँ आउटलेटको उद्घाटन गर्नकै लागि सामाजिक सञ्जालमा ‘जमजम ब्रदर्स’ का रूपमा विश्वभर ख्याति कमाएका अब्दुल गफुर र मोहम्मद शकुर शुक्रबार नै काठमाडौं ओर्लिसकेका छन्। पाकिस्तानी मूलका यी दुई दाजुभाइ ‘बडे भाइ’ र ‘छोटे भाइ’ का नामले अत्यधिक लोकप्रिय छन्।
दुबईमा इलेक्ट्रोनिक्स व्यापारबाट व्यावसायिक जीवन सुरु गरेका उनीहरूले पछि पर्फ्युम व्यवसायतर्फ आफ्नो साम्राज्य विस्तार गरेका हुन्। युट्युब, टिकटकलगायतका डिजिटल माध्यममार्फत अनौठो र रमाइलो शैलीमा सामग्री पस्किने यो जोडी नेपालमा पनि उत्तिकै चर्चित छ।
नेपाली दर्शकसँगको आत्मीयता
काठमाडौं आइपुगेपछि आफ्नो धारणा राख्दै अब्दुल गफुर (बडे भाइ)ले विगत पाँच वर्षदेखि डिजिटल माध्यममा सामग्री बनाउँदै आएको र पछिल्लो चार वर्षयता नेपाली दर्शकहरूको अथाह माया र साथ पाप्त भएको बताए।
नेपाली उपभोक्ताबाट निरन्तर मिलेको समर्थनप्रति आभार प्रकट गर्न र आपसी सद्भावलाई थप कसिलो बनाउन नेपाल भ्रमणमा आएको उनले जानकारी दिए। नेपाली बजारका लागि ‘नेक्सा प्रो’ पर्फ्युम अत्यधिक उपयुक्त हुने सुझाव पनि उनले दिएका छन्।
नेपालमा यस ब्रान्डको व्यावसायिक नेतृत्व अध्यक्ष जयप्रसाद भट्टराई (जेपी), निर्देशक विनोद भट्टराई र प्रबन्धक रोशन सिग्देलले सम्हालेका छन्। प्रबन्धक सिग्देलले नेपालमा यस ब्राण्डका ४६ भेरियन्टमा पर्फ्युम उपलब्ध हुने जानकारी दिएका छन् । साथै, भाेलि शनिबारदेखि पहिलाे एक सातासम्म जमजमकाे पर्फ्युम किन्दा विशेष छुटकाे पनि व्यवस्था गरिएकाे उनले बताए ।
सिभिल मलको भौतिक स्टोरका साथै माइपे डिजिटल वालेट र कम्पनीको आधिकारिक नेपाली वेबसाइटमार्फत पनि यी सुगन्धित उत्पादनहरू खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
साउदी अरब, पाकिस्तान, कुवेत र ओमानलगायतका देशमा २४ वटा शाखाहरू सञ्चालन गर्दै आएको यस ब्रान्डको काठमाडौंमा खुल्न लागेको आउटलेट विश्वव्यापी सञ्जालको २५औँ शाखा हो।
यस अन्तर्राष्ट्रिय कम्पनीले आगामी दिनमा कतार, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, स्पेन र मलेसियामा समेत आफ्ना शाखाहरू विस्तार गर्ने महत्त्वाकांक्षा राखेको छ।













