२२ श्रावण २०८३, शुक्रबार

वित्तीय प्रविधि क्षेत्रको महाकुम्भ ‘नेपाल फिनटेक एक्स्पो’ को दोस्रो संस्करणको तयारी पूरा, ६५ भन्दा बढी स्टल रहने



फिनटेक एलायन्स नेपालको आयोजनामा आगामी असोजमा ललितपुरको हेरिटेज गार्डेनमा तीन दिनसम्म चल्ने ‘नेपाल फिनटेक एक्स्पो २०२६’ हुने भएको छ।

काठमाडाैँ । नेपालको वित्तीय प्रविधि तथा डिजिटल कारोबारको क्षेत्रमा अग्रणी मानिएको संस्था फिनटेक एलायन्स नेपालले मुलुककै ठूलो प्रविधि मेला ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

पहिलो संस्करणको उल्लेख्य सफलताबाट उत्साहित भएर आयोजकले यसको दोस्रो संस्करणलाई अझै भव्य, व्यवस्थित र फराकिलो दायरामा सञ्चालन गर्ने तयारी गरेको छ। आगामी असोज २३, २४ र २५ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो मेला सञ्चालन हुनेछ।

यसअघि दुई दिन मात्र चलेको यो प्रदर्शनी यसपटक भने लगातार तीन दिनसम्म चल्नेछ, जसले प्रविधिप्रेमी र उद्यमीहरूलाई अवलोकनका लागि पर्याप्त समय प्रदान गर्नेछ।

मेलामा ६५ भन्दा बढी व्यावसायिक प्रदर्शनी स्टलहरू रहनेछन् भने विशेष आकर्षणका रूपमा दुईवटा छुट्टै एक्सपेरियन्स जोनहरू पनि तयार पारिनेछन्।

स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रविधि कम्पनीहरूको सहभागितामा कृत्रिम बौद्धिकता (एआई), अत्याधुनिक डिजिटल बैंकिङ, सुरक्षित डिजिटल भुक्तानी, एम्बेडेड फाइनान्स र ऋण लगानी गर्दा प्रयोग हुने नवीन प्रविधिहरू यस मेलामा मुख्य रूपमा प्रदर्शन गरिनेछन्।

यसबाहेक, विभिन्न प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम सेवा तथा उत्पादनहरूको आधिकारिक रूपमा सार्वजनिकरण (प्रडक्ट लन्च) गर्ने कार्यक्रम समेत तय गरिएको छ।

विशाल सहभागिताको अपेक्षा

एक्स्पोको औपचारिक उद्घाटन समारोह आगामी असोज २३ गते यानी अक्टोबर ९ का दिन हेरिटेज गार्डेन परिसरमै रहेको क्लासिक भेन्युमा हुनेछ।

ठूलो संख्यामा आउने पाहुनाहरूको सहज व्यवस्थापन, सवारी साधनका लागि पर्याप्त पार्किङ सुविधा र यसपटक हुने अतिथहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै उद्घाटनका लागि उक्त स्थान चयन गरिएको हो। आयोजकका अनुसार यस वर्षको तीनदिने प्रविधि मेलामा छ हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाउने अनुमान गरिएको छ।

यस बृहत् कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधि, विभिन्न फिनटेक कम्पनीहरू, भुक्तानी सेवा प्रदायकहरू, नियमनकारी निकायका अधिकारीहरू, सरकारी निकाय, लगानीकर्ता र प्रविधि स्टार्टअपका संस्थापकहरूको जमघट हुनेछ।

साथै, विकास साझेदार संस्थाहरू, प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा गहिरो रुचि राख्ने सर्वसाधारण नागरिकहरूका लागि पनि यो मेला नौलो सिकाइको माध्यम बन्नेछ। नेपालको समग्र डिजिटल इकोसिस्टमलाई थप सुदृढ र भरपर्दो बनाउन यो एक्स्पो एक कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

प्रायोजनका अवसरहरू

फिनटेक एलायन्स नेपालमा हाल देशभरका ५३ वटा प्रतिष्ठित कर्पोरेट सदस्यहरू आबद्ध रहेका छन्। यस संस्थाले डिजिटल अर्थतन्त्रलाई गति दिन नियमित रूपमा फिनटेक फ्राइडे र फिनटेक सोसलजस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसका साथै, सीटीओ रिट्रिटजस्ता उच्चस्तरीय कार्यक्रममार्फत प्रविधि क्षेत्रको नेतृत्व तहबीच ज्ञानको आदान–प्रदान, आपसी सहकार्य र नवीनतम विचारहरूको प्रवर्द्धनमा समेत संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

मुलुकको डिजिटल भविष्यको चित्र कोर्ने यस राष्ट्रिय महत्त्वको महामेलाका लागि इच्छुक विभिन्न सङ्घसंस्था तथा कम्पनीहरूलाई लक्षित गर्दै विभिन्न विधामा प्रायोजनका अवसरहरू समेत खुला गरिएको छ।