२३ श्रावण २०८३, शनिबार

यो साता पनि नेप्सेको ओरालो यात्रा जारी, ३५ अंकको गिरावट, कारोबारमा छैन उत्साह



काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता पनि ओरालो लागेको छ। यो साता नेप्सेमा ३५ दशमलव ४५ अंकको गिरावट आएको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २६ सय ८५ दशमलव ५४ अंकमा रहेको नेप्से यो साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म आइपुग्दा २६ सय ५० दशमलव ०९ अंकमा झरेको हो।

यससँगै साप्ताहिक रूपमा नेप्सेमा करिब १ दशमलव ३२ प्रतिशतको गिरावट आएको छ। गत साता पनि ४९ अंकले घटेको नेप्सेमा यो साता पनि सुधार नदेखिएपछि लगानीकर्तामा निराशा छाएको देखिन्छ।

साताभरी नेप्से ओरालो, बुधबार झिनो वृद्धि

यो साताभरीमा ओरालो लागेको नेप्सेले बुधबार भने झिनो अंकको वृद्धि देखाएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से १ दशमलव २० अंकले घटेर २६ सय ८४ दशमलव ३३ अंकमा बन्द भयो। मंगलबार पनि बजारमा बिक्री दबाब थप बढ्दा नेप्से २१ दशमलव १५ अंकले घट्दै २६ सय ६३ दशमलव १८ अंकमा झरेको थियो।

मंगलबारको ठूलो गिरावटपछि बुधबार बजारले केही सुधारको प्रयास गर्‍यो। बुधबार नेप्से ४ दशमलव ७९ अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा पुगेको थियो। यद्यपि यो सुधारले बजारको समग्र दिशालाई परिवर्तन गर्न भने सकेन।

फेरी बिहीबार पुन: बिक्री चाप बढ्दा नेप्से १३ दशमलव ८२ अंकले घटेर २६ सय ५४ दशमलव १५ अंकमा सीमित भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि बजारले सुधारको संकेत दिन सकेन। नेप्से थप ४ दशमलव ०५ अंकले घटेर २६ सय ५० दशमलव ०९ अंकमा बन्द भयो।

यससँगै शुक्रबारको बन्द अंक नै यो साताको सबैभन्दा न्यून बन्द विन्दु २६ सय ५० दशमलव ०९ अंक बनेको छ। यसरी बुधबार एक दिन सामान्य सुधार आए पनि सोमबार, मंगलबार, बिहीबार र शुक्रबार गरी चार कारोबार दिन नेप्से घटेको छ। साताको अन्तिम दुई कारोबार दिनमा आएको लगातार गिरावटले बजारमा खरिदकर्ताको उत्साह कमजोर रहेको संकेत गरेको छ।

यस साताको बजार गतिविधिलाई हेर्दा लगानीकर्ताको मनोबल अझै बलियो बन्न नसकेको देखिन्छ। मंगलबारको २१ अंकभन्दा बढीको गिरावट र त्यसपछि आएको बुधबारको सामान्य सुधारले बजारमा अस्थिरता कायम रहेको संकेत पनि गरेको छ। बुधबारको वृद्धि पछिल्ला दुई दिनमा पुन: हराएकाले त्यसलाई तत्कालीन प्राविधिक सुधारका रूपमा मात्र हेर्नुपर्ने अवस्था देखिएको छ।

२६ सय ५० अंकको क्षेत्र अब बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक विन्दु बनेको छ। शुक्रबार नेप्से यही क्षेत्र आसपास आएर बन्द भएकाले आगामी साता बजारले यो स्तर जोगाउन सक्छ कि सक्दैन भन्ने विषय महत्वपूर्ण बनेको छ । २६ सय ५० आसपासको स्तर टिकेमा बजारमा पुन: खरिद चाप देखिन सक्ने सम्भावना रहन्छ भने यो क्षेत्रबाट तल झरेमा थप बिक्री दबाब आउन सक्ने जोखिम रहनेछ।

समग्रमा यस साता नेप्सेमा चार दिन गिरावट र एक दिन मात्र सामान्य सुधार देखियो। साप्ताहिक रूपमा ३५ दशमलव ४५ अंक अर्थात् करिब १ दशमलव ३२ प्रतिशतको गिरावट आएको छ। बजारको पछिल्लो गतिविधिले लगानीकर्ताहरू अझै आक्रामक खरिदभन्दा ‘पर्ख र हेर’ को रणनीतिमा नै रहेको संकेत गरेको छ।

कारोबारमा छैन उत्साह

नेप्से परिसूचकको ओरालो यात्रासँगै यस साता सेयर कारोबारको रकममा उतारचढाव देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार ४ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कारोबार रकम घटेर ४ अर्ब ७ करोड रुपैयाँमा सीमित भयो।
बुधबार नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम केही बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो। बिहीबार भने कारोबार रकम पुन: बढ्दै ४ अर्ब ६२ करोड रुपैयाँ पुगे पनि बजार परिसूचक भने १३ दशमलव ८२ अंकले घटेको थियो।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने कारोबार रकम पुन: घटेर करिब ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो। यसरी पाँच कारोबार दिनमा कुल करिब २१ अर्ब ४४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको देखिन्छ। दैनिक औसत कारोबार रकम करिब ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। सोमबारको तुलनामा शुक्रबार कारोबार रकम करिब ७९ करोड ८० लाख रुपैयाँ अर्थात् करिब १७ दशमलव ४५ प्रतिशतले घटेको छ।

कारोबार रकममा आएको यो संकुचनले बजारमा लगानीकर्ताको सक्रियता कमजोर हुँदै गएको संकेत गर्छ। विशेषगरी अन्तिम कारोबार दिन नेप्से घट्नुका साथै कारोबार रकमसमेत घटेकाले तत्काल बलियो खरिद माग फर्किएको निष्कर्ष निकाल्न हतार हुने देखिन्छ। बजारमा दिगो सुधारका लागि परिसूचकसँगै कारोबार रकममा पनि सुधार आवश्यक हुन्छ।

समग्रमा यस साता नेप्से परिसूचक र कारोबार रकम दुवैमा दबाब देखिएको छ। एक दिनको सामान्य सुधारबाहेक बजारले निरन्तर बिक्री दबाब सामना गरेको छ। अब आगामी साता २६ सय ५० अंक आसपासको बजार व्यवहार, कारोबार रकम र लगानीकर्ताको खरिद सक्रियताले नेप्सेको आगामी दिशा तय गर्नेछ।