२४ श्रावण २०८३, आइतबार

काठमाडौं आइपुग्यो चेरी क्यू,नाइमा एक्स्पोमा सार्वजनिक हुने



काठमाडौँ। चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू काठमाडौं आइपुगेको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाल भित्र्याएको हो।

र खुसीको कुरा, यही साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यो गाडी औपचारिक रूपमा सार्वजनिक गरिँदैछ।

आफ्नो सेग्मेन्टमै उत्कृष्ट सुविधाहरू बोकेर आएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज दिन्छ।

चार्जिङको कुरा गर्ने हो भने, यसमा ८५ किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ। जसको मद्दतले यसको ब्याट्रीलाई मात्र १६ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। साथै, भी टु एल प्रविधिबाट बाहिरी विद्युतीय उपकरणहरू सजिलै चलाउन पनि सकिन्छ।

१५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ५४० डिग्री सराउण्ड क्यामेरा र २० सुरक्षा फिचरहरू भएको एडास प्रविधि समेत यसमा छ।।

अन्तर्राष्ट्रिय स्तरमा दुई- दुई वटा प्रतिष्ठित अवार्ड जितेर चर्चाको शिखरमा रहेको यो प्रिमियम क्रसओभर एसयूभीले नेपाली अटो बजारमा नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।

उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, १४५० लिटरसम्म बढाउन सकिने फराकिलो बुट स्पेस र पावरफुल रियर ह्विल ड्राइभ सिस्टमले गर्दा यो गाडी शहरको दैनिकीका लागि मात्र नभई लामो यात्राका लागि पनि उत्तिकै व्यावहारिक र आरामदायी हुने अपेक्षा छ।

नाइमा एक्स्पोमा २०२६ मा चेरी क्यू औपचारिक रुपमा सार्वजनिक भइसकेपछि नेपाली बजारमा यसको उपस्थीतिबारे थप जानकारी प्राप्त हुनेछ।