लोकसेवा तयारीमा रहेका लाखौँ विद्यार्थीका समस्या सम्बोधन गर्न राज्य गम्भीर हुनैपर्छ : हमाल
काठमाडौं। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीका समस्या समाधान तथा उनीहरूको भविष्य सुनिश्चित गर्न राज्यले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवा पढ्ने विद्यार्थीहरू सामान्यतः राजनीतिक आन्दोलनभन्दा अध्ययनमा केन्द्रित हुने गरेको बताए। सरकारी सेवामा प्रवेश गरेर भविष्यमा राज्यको जिम्मेवारी सम्हाल्ने उद्देश्य राख्ने भएकाले उनीहरू आन्दोलनभन्दा पढाइलाई प्राथमिकता दिने उनको भनाइ थियो।
तर पछिल्लो समय लोकसेवा तयारीमा रहेका विद्यार्थीसमेत आन्दोलनमा आउनुपर्ने परिस्थिति सिर्जना हुनु चिन्ताको विषय भएको उनले बताए। युवाका लागि रोजगारीको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै हमालले रोजगारीकै माग लिएर युवाले आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको धारणा राखे।
‘रोजगारी पाउनु मौलिक अधिकार हो । यो मागेर पाउनुपर्ने विषय होइन, राज्यका तर्फबाट सुनिश्चित गरिनुपर्ने कुरा हो । एउटा विद्यार्थी लोकसेवा पढेर देशको सेवा गर्छु, जागिर खान्छु र परिवार पाल्छु भनेर भन्न नपाउने?’ उनले प्रश्न गर्दै भने ।
हमालले लोकसेवा तयारी गरिरहेका विद्यार्थीको अध्ययन र रोजगारीको अवसरमा कुनै किसिमको अवरोध सिर्जना गर्न नहुने बताए। युवाको आवाज दबाउने प्रयास विगतमा पनि भएको र त्यसको परिणामसमेत देखिइसकेको उनको भनाइ छ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको नेतृत्वमा युवाहरूलाई रोक्ने प्रयास गरिएको उल्लेख गर्दै हमालले त्यस्ता घटनाबाट राज्यले पाठ सिक्नुपर्ने बताए।
उनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४ देखि ५ लाख युवा लोकसेवा आयोगको तयारीमा रहने गरेका छन्। यति ठूलो संख्यामा रहेका लोकसेवा तयारीकर्ताको अध्ययन, रोजगारी र भविष्यसँग जोडिएका विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
सरकारले लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको स्वीकृती लिनुपर्ने लगायतका नीतिगत व्यवस्था गरेपछि भारी सँख्यामा विज्ञापन कटौती हुनेभएपछि विद्यार्थीहरु आन्दोलित हुन थालेका हुन् ।
लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरू रोजगारीका अवसर, परीक्षा तथा नियुक्ति प्रक्रियामा देखिएका समस्या र आफ्नो भविष्यप्रति राज्यको स्पष्टता माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। अध्ययनमा केन्द्रित रहनुपर्ने विद्यार्थी नै आफ्नो अधिकार र रोजगारीको सुनिश्चितताका लागि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर विषय बनेको छ।













