२५ श्रावण २०८३, सोमबार

हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ७७ करोड ४० लाख



काठमाडौं । शेखर गोल्छा नेतृत्वको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशत बढी हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी र नाफामा उल्लेख्य सुधार भएको हो।

गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल कर्जा ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट ५२ प्रतिशतले बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले खराब कर्जा नियन्त्रणमा समेत सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आर्थिक वर्षमा घटेर १.८७ प्रतिशतमा झरेको छ।

नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको अन्त्यमा प्रतिसेयर आम्दानी २६.०४ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, इक्विटीमा प्रतिफल २१.१२ प्रतिशत, कोषको लागत ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ। असार मसान्तसम्म कम्पनीको साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको करिब ४० करोड रुपैयाँ खुद नाफासँगै अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित नाफा जोड्दा वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ रहेकाले वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता करिब ९३ प्रतिशत देखिन्छ। यद्यपि, यो लाभांश क्षमता मात्रै हो; कम्पनीले कति लाभांश वितरण गर्ने भन्ने निर्णय सम्बन्धित प्रक्रिया पूरा भएपछि मात्रै तय हुनेछ।

हुलास फिनसर्भले बुक बिल्डिङ विधिमार्फत २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। आईपीओ निष्कासनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भले सन् २०१२ देखि हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ। कम्पनीले दुईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे सवारीसाधन, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरलगायतका वस्तुका लागि उपभोक्ता वित्तीय सेवा प्रदान गर्दै आएको छ।

सन् २०१२ मा हुलास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भ र सन् २०२३ नोभेम्बरदेखि हुलास फिनसर्भ हायर पर्चेज भएको हो।

कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी १५ प्रतिशत सेयर हुलास अटोकल्फ, हिम इलेक्ट्रोनिक्सलगायतका ६ जना लगानीकर्ताको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन्।

कम्पनीका अनुसार देशको असहज आर्थिक परिस्थिति र तरलता संकुचनका बाबजुद पनि वित्तीय प्रदर्शन मजबुत रह्यो। कम्पनीले कर्जा मूल्यांकनका मापदण्डमा कडाइ तथा सुरुवाती चरणमै गरिएको असुली प्रयासले सम्पत्तिको गुणस्तर कायम राख्न सहयोग पुगेको जनाएको छ।