२५ श्रावण २०८३, सोमबार

बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफलमा जुटे अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरू गरेका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत अर्थ मन्त्रीले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई छलफलका लागि बोलाएका हुन्।

मन्त्रालयको सुवर्ण हलमा साेमबार मध्याह्न साढे १ बजे छलफल सुरू भएकाे छ। छलफलमा बहुराष्ट्रिय कम्पनीहरूले बजेटमार्फत पाएका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुने जनाइएको छ।

अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिलाई नेपालमा थप लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीबाट प्राप्त प्रतिफल फिर्ता लैजाने विषयमा सरकारले गर्नुपर्ने सहजीकरणबारे आफ्ना धारणा खुलस्त रूपमा राख्न आग्रह गर्नेछन्। उनीहरूलाई सम्बन्धित विषयमा लिखित विवरणसमेत पेश गर्न आग्रह गरिनेछ।

बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्।

त्यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन्।