२६ श्रावण २०८३, मंगलबार

डिजिटल साक्षरता बढाउन राष्ट्र बैंकको आग्रह, डाटा र गोपनीयताको सुरक्षामा जोड



काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको सन्देशमा डिजिटल प्रविधिलाई आत्मविश्वास, रचनात्मकता र अनुशासनका साथ प्रयोग गर्न सक्ने क्षमता विकास गर्नुपर्ने उल्लेख छ।

राष्ट्र बैंकका अनुसार डिजिटल साक्षरताअन्तर्गत आवश्यक सूचना कहाँ, कसरी र कस्तो स्रोतबाट खोज्ने भन्ने ज्ञानसँगै प्राप्त सूचनाको सान्दर्भिकता र विश्वसनीयता मूल्याङ्कन गर्ने क्षमता पनि आवश्यक हुन्छ। त्यस्तै, सूचनालाई व्यवस्थित रूपमा संकलन, प्रशोधन र विश्लेषण गरी आवश्यकताअनुसार प्रयोग गर्न सक्ने दक्षता विकास गर्नुपर्नेमा जोड दिइएको छ।

डिजिटल सञ्चारदेखि सामग्री सिर्जनासम्म

डिजिटल प्रविधिको प्रयोग गर्दा प्रभावकारी सञ्चार र समन्वयलाई पनि महत्वपूर्ण पक्षका रूपमा राष्ट्र बैंकले औंल्याएको छ। एकतर्फी रूपमा विचार तथा सूचना साझा गर्ने मात्र नभई डिजिटल माध्यमबाट दुईतर्फी अन्तरक्रिया गर्न र समाज तथा राज्यका गतिविधिमा सहभागी हुन सक्ने क्षमता आवश्यक रहेको सन्देशमा उल्लेख छ।

डिजिटल वातावरणमा जिम्मेवार व्यवहार गर्ने, आफ्नो डिजिटल परिचय व्यवस्थापन गर्ने तथा डिजिटल सामग्री सिर्जना र परिमार्जन गर्न सक्ने सीप विकास गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। साथै, प्रतिलिपि अधिकार तथा लाइसेन्ससम्बन्धी आधारभूत ज्ञान राखेर डिजिटल सामग्री प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ।

डाटा र गोपनीयताको सुरक्षामा जोड

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिन राष्ट्र बैंकले आग्रह गरेको छ। डिजिटल उपकरण तथा व्यक्तिगत डाटा सुरक्षित राख्नुका साथै गोपनीयताको संरक्षण गर्नुपर्ने सन्देशमा उल्लेख छ।

प्रविधिको अत्यधिक वा गलत प्रयोगले पार्न सक्ने नकारात्मक प्रभावबाट आफ्नो जीवनलाई जोगाउँदै यसको वातावरण, समाज र अर्थतन्त्रमा पर्ने प्रभावबारे समेत सचेत हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, डिजिटल प्रविधिको प्रयोग केवल सञ्चार वा सूचना आदानप्रदानमा सीमित नराखी प्राविधिक समस्या पहिचान तथा समाधान, आफ्ना आवश्यकता पूरा गर्न, सुधार तथा नवप्रवर्तनका लागि समेत उपयोग गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

राष्ट्र बैंकले डिजिटल क्षमतामा रहेको कमी पहिचान गरी त्यसलाई निरन्तर सुधार गर्दै सुरक्षित, समावेशी र दिगो सामाजिक भविष्य निर्माणका लागि डिजिटल प्रविधिसम्बन्धी क्षमता विस्तार गर्न आग्रह गरेको हो।