बजाजले नेपालमा ल्यायो दुई नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ८१ हजारदेखि
काठमाडौं । बजाज अटोले नेपालमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘चेतक’को नयाँ मोडल विस्तार गरेको छ। कम्पनीले चेतक सिरिजअन्तर्गत सी२५०१ र सी३५०३ गरी दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा ल्याइएका दुवै मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हो।
११३ किलोमिटर रेन्ज, मूल्य २ लाख ८१ हजार
चेतक सी२५०१ मा २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा प्रमाणित आईडीसी परीक्षणअनुसार ११३ किलोमिटरसम्म रेन्ज दिन्छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ।
स्कुटरमा फास्ट चार्जिङ सुविधा दिइएको छ। यसमार्फत ब्याट्रीलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीको दाबी छ।
सी२५०१ मा कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेजलगायतका सुविधा छन्।
यो स्कुटर ग्लोसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी येलो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ।
सी३५०३ मा १५१ किलोमिटर रेन्ज
चेतक सी३५०३ मा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। यसले एकपटक चार्ज गर्दा १५१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ।
सी३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज सुविधा छ। स्कुटरमा पुरानो चेतकको डिजाइन झल्काउने घोडाको नाल आकारको डीआरएल हेडलाम्पसमेत दिइएको छ।
यो मोडल इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ।
बजाज नेपालका अनुसार दुवै मोडलको बुकिङ नेपालका छनोट गरिएका बजाज डिलरबाट सुरु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा समेत ग्राहकले नयाँ स्कुटरको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।
हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकको नयाँ मोडल विस्तारले नेपालमा विद्युतीय गतिशीलताको क्षेत्रमा कम्पनीको उपस्थितिलाई थप विस्तार गर्ने बताए। उनका अनुसार नयाँ मोडलले फरक मूल्य र डिजाइन रुचाउने ग्राहकलाई लक्षित गर्नेछ।













