२६ श्रावण २०८३, मंगलबार

टाटाको पन्च ईभी फेसलिफ्ट बजारमा, मूल्य साढे चार लाखसम्म सस्तो



परिमार्जित डिजाइन, क्षमतावान् ब्याट्री र भारी मूल्य कटौतीसहित टाटा पन्च ईभीको फेसलिफ्ट मोडल आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ।

काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा चर्चामा रहेको टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण औपचारिक रूपमा बिक्रीमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर यो नयाँ विद्युतीय गाडी नेपाली ग्राहकका माझ ल्याएको हो।

आकर्षक डिजाइन, परिष्कृत फिचर र यसअघिको तुलनामा उल्लेख्य रूपमा घटेको मूल्यले यो गाडीप्रति उपभोक्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

सार्वजनिक गरिएको नयाँ मूल्य अनुसार नेपाली ग्राहकले अब यो गाडी निकै सुलभ दरमा पाउन सक्नेछन्। कम्पनीले यसलाई तीनवटा विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ। नयाँ मोडलको तल्लाे (बेस) भेरियन्टको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको प्रिमियम (टप) भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

संघीय बजेट पछि सार्वजनिक भएको यस नयाँ मूल्यसँगै पन्च ईभीको मूल्यमा करिब चार लाख रुपैयाँसम्मको गिरावट आएको छ। यसअघि यही मोडलका पुराना संस्करणहरू ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएका थिए।

ब्याट्री क्षमता र चार्जिङमा दम

नयाँ पन्च ईभीमा प्रयोगकर्ताले ब्याट्री क्षमताका हिसाबले ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुईवटा विकल्प पाउन सक्नेछन्। अघिल्लो संस्करणको तुलनामा यी दुवै भेरियन्टमा ५ किलोवाट आवर बढी क्षमताको ब्याट्री जडान गरिएको छ। छिटो चार्ज हुने विशेषताले यसलाई थप आकर्षक बनाएको छ।

यसले ६५ किलोवाटको डीसी फास्ट चार्जर समर्थन गर्ने हुँदा ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म पुग्न मात्र २६ मिनेट लाग्नेछ। कम्पनीका अनुसार केवल १५ मिनेट चार्ज गरेर पनि १३५ किलोमिटरको दूरी तय गर्न सकिन्छ।

गाडीको बाहिरी स्वरूपमा पनि पर्याप्त काम गरिएको छ। टाटाका ठूला विद्युतीय मोडलहरूसँग मिल्दोजुल्दो देखिने १६ इन्चका नयाँ एरो अप्टिमाइज्ड अलोय ह्वील यसमा प्रयोग गरिएका छन्। पछिल्लो भागमा आइस पन्च फेसलिफ्टकै ढाँचामा आकर्षक एलईडी टेललाइटहरू जडान गरिएको छ।

भित्री हिस्सामा भने पुरानै ड्यासबोर्ड डिजाइनलाई निरन्तरता दिइएको भए पनि नयाँ ट्रिम फिनिस र दुई रङको समिश्रणसहितको आधुनिक थिमले क्याबिनलाई अझ प्रिमियम महसुस गराउँछ। आरामदायी यात्राका लागि यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अर्को १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले राखिएको छ।

अत्याधुनिक प्रविधि र सुरक्षा कवच

चालक र यात्रुको सुविधालाई ध्यानमा राख्दै यसमा ताररहित (वायरलेस) चार्जिङ, भेन्टिलेटेड सिट, मनमोहक एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता सुविधाहरू समेटिएका छन्।

सुरक्षाका पक्षलाई विशेष प्राथमिकता दिँदै यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ बिम एसिस्टजस्ता उच्चस्तरीय सुरक्षा फिचरहरू उपलब्ध गराइएको छ।