नेपाली भूमिमै एसेम्बल भएकाे हुन्डाई भेन्यु, यस्ता छन् विशेषता र मूल्य
नेपालमै एसेम्बल गरिएको ‘अल न्यु हुन्डाई भेन्यु’ आधुनिक सुरक्षा प्रविधि ‘एडास लेभल-२’ का साथ बजारमा प्रवेश गरेको छ।
काठमाडाैँ । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ रूपमा सार्वजनिक भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर यो गाडीलाई नेपाली ग्राहकका लागि आधिकारिक रूपमा बजारमा ल्याएको हो।
नेपालमै एसेम्बलिङ गरिएको यो नयाँ पुस्ताको भेन्युमा अघिल्ला मोडलहरूको तुलनामा व्यापक प्राविधिक र डिजाइनगत परिमार्जन गरिएको कम्पनीले जनाएको छ। पछिल्लो समय नेपाली उपभोक्ताको रोजाइमा रहेको यो एसयूभी चारवटा फरक भेरियन्टमा उपलब्ध हुनेछ।
अत्याधुनिक सुरक्षा र प्रविधि
नयाँ भेन्युको सबैभन्दा ठूलो विशेषता भनेको यसमा पहिलो पटक समावेश गरिएको ‘एडास लेभल-२’ प्रविधि हो, जसले चालकलाई सुरक्षाका हिसाबले थप आश्वस्त बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, चालकको सहजताका लागि इलेक्ट्रीक पार्किङ ब्रेक र अटो होल्डजस्ता फिचरहरू थपिएका छन्।
भेरियन्टअनुसार यसमा ३६० डिग्री क्यामरा, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ मोड र ट्रयाक्सन मोड उपलब्ध गराइएको छ। चालक र यात्रुको आरामलाई मध्यनजर गर्दै यसमा रिक्लाइनिङ रियर सिट र विन्डो सनसेडको व्यवस्था पनि गरिएको छ।
डिजाइन र इन्टेरियरमा नयाँपन
बाहिरी बनोटमा पुरै परिवर्तन गरिएको नयाँ भेन्युमा एलईडी लाइटको प्रयोगले यसलाई थप आकर्षक बनाएको छ। कम्पनीले १६ इन्चको ह्वील साइजलाई निरन्तरता दिए पनि यसको डिजाइन भने नितान्त नयाँ राखिएको छ। गाडीको अगाडि र पछाडिको लुक्समा गरिएको परिवर्तनले यसलाई थप आधुनिक र परिष्कृत देखाउँछ।
गाडीको भित्री भाग वा क्याविनमा पनि उल्लेख्य सुधारहरू गरिएका छन्। ड्यासबोर्डमा १२.३ इन्चका दुई ठूला स्क्रिनहरू जडान गरिएका छन् भने म्युजिकप्रेमीहरूका लागि टप भेरियन्टमा बोसको ८ वटा स्पीकर प्रणाली दिइएको छ। यसपटक कम्पनीले फिजिकल बटनहरूको प्रयोगमा पनि जोड दिएको छ। पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले चालक र यात्रुलाई प्रिमियम अनुभव प्रदान गर्नेछ।
इन्जिन र मूल्य
इन्जिन क्षमताको हकमा भने पुरानै इन्जिन विकल्पहरूलाई निरन्तरता दिइएको छ। यो गाडी १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ। पेट्रोल संस्करणमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड ड्यूल-क्लच गियरबक्स दिइएको छ। डिजेल इन्जिनमा भने ग्राहकले ६ स्पीड म्यानुअल वा ६ स्पीड अटोमेटिक गियरबक्सको विकल्प पाउनेछन्।
मूल्यको सन्दर्भमा, कम्पनीले नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ। त्यस्तै, उच्च क्षमताको ‘एन लाइन’ भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। नेपालमै एसेम्बल भएको हुनाले नयाँ भेन्युले नेपाली अटोमोबाइल बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने व्यवसायीहरूको विश्लेषण छ।













