टाटा टियागो ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा, पुरानै मूल्यमा पाइने
परिमार्जित डिजाइन, आधुनिक डिजिटल फिचर र प्रविधिले सुसज्जित फेसलिफ्ट टाटा टियागो ईभी पुरानै मूल्यमा नेपाली बजारमा भित्रिएको छ।
काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा बलियो पकड जमाएको टाटाको सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याक कार टियागो अब नयाँ र परिमार्जित रूपमा उपलब्ध हुने भएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित फेसलिफ्ट टाटा टियागो ईभीको बिक्री औपचारिक रूपमा सुरु गरेको छ। काठमाडौंमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर पारेर कम्पनीले यो नयाँ गाडी सार्वजनिक गरेको हो।
विशेषगरी सहरी क्षेत्रमा किफायती, कम्प्याक्ट र अत्याधुनिक विद्युतीय गाडी खोज्ने उपभोक्तालाई लक्षित गरेर यो मोडल ल्याइएको हो।
कम्पनीले फेसलिफ्ट टियागो ईभीलाई दुई भिन्न भेरियन्टमा नेपाली बजारमा उतारेको छ। यसको सुरुवाती वा बेस भेरियन्टको बजार मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको उच्च तह (टप) भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
डिजाइन र सुविधाहरूमा उल्लेख्य सुधार गरेर ल्याइएको भए पनि सिप्रदीले यसलाई पुरानै मूल्यमा उपभोक्तासम्म पुर्याएको छ, जसले गर्दा ग्राहकलाई थप फाइदा पुग्ने अपेक्षा गरिएको छ।
नयाँ टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको शक्तिशाली लिथियम आयन ब्याट्री प्याक जडान गरिएको छ। यसमा प्रयोग गरिएको ५५ किलोवाट क्षमताको विद्युतीय मोटरले ११४ एनएम बराबरको टर्क उत्पन्न गर्ने क्षमता राख्छ।
नेपाली सडकका उकालो तथा भिरालो मार्गहरू र सहरी ट्राफिकका लागि यो पावरट्रेन निकै उपयुक्त र प्रभावकारी हुने अटोमोबाइल विज्ञहरूको भनाइ छ। यसअघि पनि नेपाली सडकमा बाक्लो रूपमा गुडिरहेको टियागोको यो नयाँ संस्करणले कार्यक्षमतामा थप परिपक्वता देखाउनेछ।
आधुनिक प्रविधि र विलासी इन्टेरियर
फेसलिफ्ट संस्करणको मुख्य आकर्षण यसको परिमार्जित इन्टेरियर र अत्याधुनिक प्रविधि हो। गाडीभित्र १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ, जसले ड्यासबोर्डलाई निकै प्रिमियम देखाउँछ।
यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा उपलब्ध छ। साथै, अपडेट गरिएको डिजिटल ककपिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टि फङ्सन स्टेयरिङ ह्विल जस्ता फिचरले ड्राइभिङ अनुभवलाई सहज बनाउँछन्।
नयाँ अपहोल्स्ट्री र उत्कृष्ट फिनिसिङसहितको डिजाइनले क्याबिनलाई अझ आकर्षक बनाएको छ।
सुरक्षाका मामिलामा पनि नयाँ टियागो ईभी उत्तिकै भरपर्दो देखिएको छ। यसमा चालक र सहयात्रीका लागि डुअल एयरब्याग, एन्टिलक ब्रेक सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (इबीडी) र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता महत्त्वपूर्ण सुरक्षा प्रणाली राखिएका छन्।
यसबाहेक गाडी पार्किङ गर्न सहज बनाउन रियर पार्किङ सेन्सर र रिभर्स क्यामेराको पनि व्यवस्था गरिएको छ।
नेपालमा टाटा ब्रान्डप्रतिको गहिरो विश्वास, यसको किफायती मूल्य र देशभर फैलिएको मजबुत सर्भिस नेटवर्कका कारण फेसलिफ्ट टियागो ईभीले नेपाली अटोबजारमा अघिल्लो मोडलभन्दा पनि बलियो व्यावसायिक सफलता हासिल गर्ने बलियो सम्भावना देखिएको छ।













