वाणिज्य बैंकहरूलाई टक्कर दिँदै १ खर्बभन्दा बढी कर्जा लगानी गर्ने पहिलाे विकास बैंक बन्याे मुक्तिनाथ
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालकै पहिलो विकास बैंक बनेको।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो ऐतिहासिक सफलता हासिल भएको हो।
समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख ३१ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ मात्र रहेको थियो। विकास बैंकहरूमध्ये १ खर्बको आँकडा पार गरी कर्जा लगानी गर्ने मुक्तिनाथ पहिलो वाणिज्य बैंक सरहकै ठूलो विकास बैंकका रूपमा स्थापित भएको छ।
कर्जासँगै बैंकको निक्षेप संकलन पनि ५.२० प्रतिशतले वृद्धि भई १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ।
वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ३९ करोड ८२ लाख ७ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा पनि २०.२३ प्रतिशतको उच्च अंकले बढेर २ अर्ब ४२ करोड २७ लाख ७ हजार रुपैयाँ पुगेको छ।
खुद नाफा र सञ्चालन मुनाफामा आकर्षक वृद्धि भए तापनि बैंकको वितरणयोग्य मुनाफामा भने गिरावट देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ३५ करोड ४१ लाख २ हजार रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा ५०.१० प्रतिशतले घटेर ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँमा झरेको छ। सोही वितरणयोग्य मुनाफाका आधारमा बैंकको वार्षिक लाभांश क्षमता ८.४५ प्रतिशत कायम भएको छ।
नाफा बढे पनि पुँजी वृद्धि र वितरणयोग्य मुनाफाका कारण बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा सामान्य संकुचन आई १८.९८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १९.१६ रुपैयाँ थियो।
८ अर्ब ३८ हजार ९०० रुपैयाँ चुक्ता पुँजी रहेकाे बैंकको खराब कर्जा अनुपात भने अघिल्लो वर्षको २.९७ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८३.८६ प्रतिशत, बेस रेट ५.५७ प्रतिशत र ब्याजदर स्प्रेड ४.५५ प्रतिशत रहेको छ।















