राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, सबैभन्दा बढी नाफा गरिमाको
काठमाडौं। राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो।
यी बैंकले आर्थिक वर्ष २०८१/८२ मा संयुक्त रूपमा ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। त्यसको तुलनामा गत वर्षको नाफा ६३.६८ प्रतिशत अर्थात् करिब ३ अर्ब ३७ करोड रुपैयाँले बढेको हो।
नाफा वृद्धिको दरका आधारमा ज्योति विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत वर्ष १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १० करोड २० हजार रुपैयाँको तुलनामा ९०५.७५ प्रतिशत बढी हो।
लुम्बिनी विकास बैंकको नाफा पनि २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा २४ करोड ११ लाख ६ हजार रुपैयाँ थियो।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको ६४ करोड ५६ लाख २७ हजार रुपैयाँको तुलनामा ८२.९६ प्रतिशत वृद्धि हो।
महालक्ष्मी विकास बैंकको खुद नाफा ४८.४६ प्रतिशतले बढेर ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो।
सांग्रिला डेभलपमेन्ट बैंकले गत वर्ष ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको ६० करोड ६६ लाख ७१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ४६.९६ प्रतिशतले बढेको हो।
सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा
गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक शीर्ष स्थानमा रहेको छ। गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले वृद्धि भएर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यसैबीच कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँको तुलनामा यो ३३.५० प्रतिशत बढी हो।
मुक्तिनाथ विकास बैंकको खुद नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा आएको सुधारले विकास बैंकहरूको वित्तीय अवस्थामा सुधार हुँदै गएको देखाएको छ। विशेषगरी अघिल्लो वर्षको तुलनामा अधिकांश बैंकको नाफा बढ्नुले आम्दानी र खर्च व्यवस्थापनमा सुधार भएको देखिन्छ।
नाफा वृद्धिलाई दिगो बनाउन खराब कर्जा नियन्त्रण, गुणस्तरीय कर्जा विस्तार तथा आम्दानी बढाउनेतर्फ बैंकहरुले ध्यान दिनुपर्ने देखिन्छ।














