सिंहदरबारभित्रै खाद्य कम्पनीको नयाँ बिक्री कक्ष, भाेलिदेखि देशैभर सुपथ मूल्य पसल सञ्चालनमा
सिंहदरबारभित्रै सुपथ मूल्यको नयाँ आउटलेट खुल्दै, देशभर एकसाथ सञ्चालनमा आउँदै छन् १९३ सहुलियत पसल ।
काठमाडाैँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरभित्रै अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ ।
आम उपभोक्ताको घरदैलो र सहज पहुँचसम्म आफ्ना गुणस्तरीय उत्पादन पुर्याउने रणनीतिक उद्देश्यसहित कम्पनीले यो सेवा विस्तार गर्न लागेको हो । सिंहदरबारभित्र खुल्ने यस नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सर्वसाधारणलाई सहुलियतपूर्ण दरमा दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउँदै आएको यस कम्पनीले बिहीबार नै आफ्ना स्थापनाका सात वर्ष पूरा भएको खुसीयालीमा विशेष उत्सव मनाउँदै छ ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सिंहदरबारभित्र सञ्चालनमा आउने यस आउटलेटबाट उपभोक्ताले निकै सुपथ मूल्यमा कम्पनीका सम्पूर्ण आधिकारिक उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
यस नयाँ बिक्री कक्षमा चामल, दाल, खानेतेल, चिनी र नुनजस्ता आधारभूत दैनिक उपभोग्य सामग्री मात्र नभई स्थानीय विशेषता बोकेका पौष्टिक अन्नहरू जस्तै चिनो, कागुनो, फापर र सिमीसमेत बिक्रीका लागि राखिनेछन् ।
यसले विशेष गरी सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा प्रशासनिक सेवा लिन आउने आम नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
देशव्यापी रूपमा सञ्चालन हुँदै
केबल सिंहदरबारभित्रको आउटलेटमा मात्र सीमित नरहेर कम्पनीले वार्षिकोत्सवकै विशेष अवसर पारेर बिहीबारदेखि नै देशका विभिन्न क्षेत्रमा ‘सुपथ मूल्य पसल’ हरूको जाल फैलाउने भएको छ ।
सूचना अधिकारी मिश्रले दिएको जानकारीअनुसार मुलुकभरका ४४ वटा जिल्ला समेट्ने गरी कुल १ सय ९३ वटा स्थानमा यस्ता सुपथ मूल्य पसलहरू एकसाथ सञ्चालनमा आउनेछन् । बजारमा देखिएको महँगीको चापलाई केही हदसम्म कम गर्दै आम नागरिककोे किन्ने क्षमतालाई राहत दिन यो राष्ट्रियस्तरको पहल चालिएको हो ।
यी विस्तारित सुपथ मूल्य पसलहरूबाट दैनिक उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले प्रत्येक किलो र प्रतिलिटरमा प्रत्यक्ष रूपमा ५ रुपैयाँ विशेष छुट प्राप्त गर्नेछन् ।
आम उपभोक्ताको दैनिकी सहज बनाउन र उनीहरूको आर्थिक भारमा केही मलमपट्टी लगाउने उद्देश्यले यो सहुलियत योजना ल्याइएको कम्पनीले स्पष्ट पारेको छ । स्थापनाकालदेखि नै सुपथ र गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्दै आएको खाद्य कम्पनीको यो कदमले उपभोक्ता वर्गमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।













