२८ श्रावण २०८३, बिहिबार

नेपाल चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे रणनीतिक सहकार्य सम्झौता



काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुवै संस्थाले उद्योग, शैक्षिक क्षेत्र, स्टार्टअप, लगानीकर्ता र नीतिनिर्माताबीच समन्वय बढाउँदै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन तथा संस्थागत क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन्।

सहकार्यअन्तर्गत विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम, क्षमता विकास, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन र ज्ञान आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। साथै, भविष्यको आवश्यकता सम्बोधन गर्ने शैक्षिक कार्यक्रम विकासमा समेत दुवै पक्षले सहकार्य गर्नेछन्।

सम्झौताअनुसार नेपाल चेम्बरले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गरी संयुक्त कार्यक्रम सञ्चालनमा सहयोग गर्नेछ। विश्वविद्यालयका विद्यार्थीलाई उद्योगसँग जोड्न इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापनामा समेत चेम्बरले सहकार्य गर्नेछ।

त्यसैगरी, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम स्थापना गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वकर्तालाई विश्वविद्यालयमा अतिथि वक्ताका रूपमा जोड्ने व्यवस्था गरिएको छ।

बागमती विश्वविद्यालयले भने आफ्नो शैक्षिक विशेषज्ञता उपलब्ध गराउँदै तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नेछ। स्टार्टअप तथा नवप्रवर्तनका क्षेत्रमा परामर्श र मार्गदर्शन प्रदान गर्नुका साथै उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने विश्वविद्यालयले जनाएको छ। सेमिनार, नीति संवाद तथा सम्मेलन आयोजना गर्न पनि विश्वविद्यालयले सहकार्य गर्नेछ।

समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ। दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।

समझदारी हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष अग्रवालले विश्वविद्यालयको भूमिका परम्परागत शिक्षामा मात्र सीमित नराखी उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नुपर्ने बताए। उनले विश्वविद्यालयले रोजगारी खोज्ने जनशक्ति मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी तथा नेतृत्वकर्ता तयार गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार ज्ञानलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्ने क्षमता अहिलेको प्रमुख आवश्यकता हो। उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने उद्देश्यअनुसार विश्वविद्यालय अघि बढिरहेको बताए। चेम्बरसँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्नुका साथै अनुसन्धानलाई व्यवहारिक बनाउन र स्टार्टअप तथा नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ छ।