स्वदेश फर्किएलगत्तै आक्रामक शैलीमा प्रस्तुत भए देउवा, भने- ‘जनता नै देशका असली मालिक हुन्’
जनमत र न्यायपालिकामाथि मलाई पूर्ण भरोसा छ भन्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई राजतन्त्रले समेत पराजित गर्न नसकेको बताएका छन्।
काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशमा जनता नै सर्वसत्ताधीश र असली मालिक भएको बताएका छन्।
लामाे विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलबाट बाहिरिएलत्तै हजाराैँ समर्थककाे प्रेम र विस्वास पाएपछि यस्ताे अभिव्यक्ति दिएका हुन् ।
उनी विमानस्थलबाट काठमाडाैँकाे चुनदेवीस्थित कांग्रेस (विशेष महाधिवेशन इतर)को सम्पर्क कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले जनताको चाहना विपरीत कोही पनि टिक्न नसक्ने बताए । देशको शासन व्यवस्था र प्रणाली जनताको चाहनाअनुसार नै चल्ने उनको तर्क थियो।
सम्बोधनका क्रममा गणतन्त्र स्थापनाको सन्दर्भ कोट्याउँदै देउवाले यो व्यवस्था कसैको व्यक्तिगत इच्छा वा सनकमा नआएको बताए। संविधानसभा मार्फत आएको लोकतान्त्रिक गणतन्त्र जनताको चाहनाको उपज भएको उनको भनाइ थियो।
जनताले चाहेको अवस्थामा मात्र यो कायम रहने र जनताको चाहनाबिना यसको विकल्प नहुने उनले स्पष्ट पारे। नेपाली जनता नै नेपालका वास्तविक मालिक भएको उल्लेख गर्दै उनले मालिकले दिएको आदेश नै सर्वोपरी हुने दाबी गरे।
अदालतको निष्पक्षतामाथि जोड दिँदै देउवाले आफूलाई नेपालको न्यायप्रणाली र आम नागरिकमाथि गहिरो भरोसा रहेको बताए।
पञ्चायतकालदेखि नै सर्वोच्च अदालतले न्यायको पक्षमा निष्पक्ष भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै उनले न्यायपालिकाप्रति आफ्नो सधैँ अटल विश्वास रहेको बताए। आफूविरुद्ध विभिन्न कालखण्डमा अनगिन्ती षड्यन्त्र र मुद्दाहरू रचिए पनि अदालतले सत्यको पक्षमा उभिँदै न्याय दिएको उनको भनाइ थियो।

विगतका राजनीतिक संघर्षका दिनहरू सम्झँदै देउवाले आफूविरुद्ध अन्तर्राष्ट्रियदेखि घरेलुस्तरसम्म अनेक किसिमका मुद्दा र प्रपञ्चहरू रचिएको बताए। अन्तर्राष्ट्रिय फौजदारी अदालतदेखि लिएर देशका विभिन्न निकायमा आफू र आफ्नी पत्नी डा. आरजु राणा देउवाविरुद्ध मुद्दा हालिएको प्रसंग उल्लेख गर्दै उनले अदालतले नै आफूहरूलाई पक्राउ गर्नुनपर्ने भन्दै स्पष्ट आदेश दिएको जानकारी दिए।
सम्पत्ति शुद्धीकरण आयोग लगायतका विभिन्न राज्यसंयन्त्रमार्फत पटकपटक अनावश्यक अनुसन्धान र दुःख दिने काम भएको भए पनि छानबिनबाट केही फेला नपरेको उनले बताए।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालका अप्ठ्यारोहरू पार गरेको कुरालाई स्मरण गर्दै देउवाले आफूलाई कसैले पनि “साइजमा ल्याउन” नसक्ने चेतावनी दिए।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रले समेत आफूमाथि दबाब दिन नसकेको यथार्थ राख्दै उनले अन्य शक्तिहरूले आफूसँग मुकाबिला गर्न नसक्ने दाबी गरे। लोकतन्त्र र कानुनको पक्षमा आफू भविष्यमा पनि निरन्तर लडिरहने दृढता व्यक्त गर्दै उनले षड्यन्त्रकारीहरूलाई आगामी दिनमा कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिए।
देउवाले यस्ताे न्यानाे स्वागत पाएः















