हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछालः एक वर्षमा उठायाे करिब ९ अर्ब ब्याज, अन्य सूचक कस्ता ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे नाफामा ऐतिहाँसिक उछाल आएकाे छ। शुक्रबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो।
गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
नाफामा उल्लेख्य सुधार देखिए पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १५.७४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।
यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ११.०३ प्रतिशतले घटेर ११ अर्ब १४ करोड १ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ५२ करोड १५ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो। वितरणयोग्य मुनाफा नै भारी घाटामा रहेका कारण यस वर्ष बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने क्षमता राख्दैन अर्थात् लाभांश क्षमता शून्य रहेको छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा सुधार आएको छ। अघिल्लो वर्ष जम्मा ०.६० रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर ६.५६ रुपैयाँ पुगेको छ। यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने उच्च दरले बढेको छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा बढेर ११.५९ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस अवधिमा ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। तर, बैंकको कर्जा प्रवाह भने १.२४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकको कर्जा यस वर्ष खुम्चिएर २ खर्ब २७ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ।













