खुद ब्याज आम्दानी ९ अर्ब नाघ्दा पनि प्रभु बैंक २४ करोड घाटामा, लाभांश क्षमता शून्य
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक अर्थात् बैंक घाटामा गएको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानी (घाटा) व्यहोरेको छ।
नाफामा भारी गिरावट आए तापनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २८.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी वृद्धि भएर ९ अर्ब २६ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी पनि १९.८५ प्रतिशतले बढेर १२ अर्ब ६७ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १० अर्ब ५७ करोड २८ लाख रुपैयाँ रहेको थियो।
तर, कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बढेका कारण बैंकको सञ्चालन मुनाफा भने १४.३० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ ऋणात्मक नै रहेको थियो। वितरणयोग्य मुनाफा उच्च दरमा ऋणात्मक रहेका कारण यस वर्ष बैंकको लाभांश वितरण गर्ने क्षमता शून्य रहेको छ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन सामान्य १.७१ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। तर, बैंकको कर्जा प्रवाह भने ४.८४ प्रतिशतले खुम्चिएको छ। अघिल्लो वर्ष २ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकको कर्जा घटेर २ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।
बैंक घाटामा गएसँगै प्रतिसेयर आम्दानी (इपीएस) पनि ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर १.०२ रुपैयाँ ऋणात्मक भएको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपातमा उच्च वृद्धि भएको छ। अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको खराब कर्जा बढेर १५.५५ प्रतिशत पुगेको छ।













