२९ श्रावण २०८३, शुक्रबार

चौध वाणिज्य बैंकको सञ्चालन नाफा ८३ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए ?



काठमाडौँ । नेपालको वित्तीय बजारमा देखिएको सुस्ती र कर्जा प्रवाहमा आएको शिथिलताका बीच नेपालका वाणिज्य बैंकहरूले सञ्चालन नाफामा भने उत्साहजनक सुधार गरेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये १४ बैंकको तथ्यांकले नेपाली बैंकिङ क्षेत्र क्रमशः लयमा फर्किँदै गरेको देखाउँछ। यी १४ वाणिज्य बैंकहरूको कुल सञ्चालन नाफा समीक्षा अवधिमा २३.८५ प्रतिशतले बढेर ८३ अर्ब ३० करोड ८ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले ६७ अर्ब २६ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका थिए। चौधमध्ये ११ वटा बैंकले आफ्नो नाफा बढाउन सफल भएका छन् भने तीनवटा बैंकको सञ्चालन नाफामा गिरावट आएको छ।

कुमारी र सिटिजन्सको ऐतिहासिक छलाङ

यो वर्ष सबैभन्दा चामत्कारिक सुधार कुमारी बैंकमा देखिएको छ। कुमारी बैंकले आफ्नो सञ्चालन नाफामा शतप्रतिशतभन्दा बढी अर्थात् १०१.०९ प्रतिशतको विशाल वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ मात्र सञ्चालन नाफा कमाएको कुमारीले यस वर्ष ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ कमाउँदै आफूलाई व्यावसायिक रूपमा अब्बल सावित गर्यो।

यो वृद्धिसँगै कुमारी बैंक सञ्चालन नाफाको आकारमा निजी क्षेत्रको अर्को बलियो प्रतिस्पर्धी नबिल बैंकको निकै नजिक पुगेको छ। कुमारीजस्तै आक्रामक प्रगति गर्ने अर्को बैंक सिटिजन्स हो, जसको सञ्चालन नाफा ८१.२६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ९८ करोड ६९ लाख रुपैयाँ नाफा रहेको सिटिजन्सको नाफा यस वर्ष ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ।

नबिलको शीर्षता कायमै, सरकारी बैंकको फड्को

निजी क्षेत्रको ठूलो र स्थापित नबिल बैंकले आफ्नो सञ्चालन नाफामा २५.२२ प्रतिशतको स्वस्थ वृद्धि गर्दै बजारमा आफ्नो वर्चस्व कायमै राखेको छ। अघिल्लो वर्ष ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको नबिलले यस वर्ष ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ आर्जन गरेर सबैभन्दा बढी नाफा कमाउने बैंकको ताज सुरक्षित राख्यो।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि यस वर्ष बलियो व्यावसायिक फड्को मारेको छ। बैंकको सञ्चालन नाफा ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ मात्र थियो। यसले सरकारी स्वामित्वका संस्थामा पनि व्यावसायिक सुधार सम्भव छ भन्ने बलियो उदाहरण पेश गरेको विश्लेषकहरू बताउँछन्।

मध्यम वृद्धिदर हासिल गर्ने सबल बैंकहरू

यस वर्ष सानिमा बैंकले पनि उल्लेखनीय प्रगति गर्दै आफ्नो सञ्चालन नाफा ४४.४४ प्रतिशतले बढाएर ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ पुर्यायो, जुन अघिल्लो वर्ष ३ अर्ब ५७ करोड ५८ लाख रुपैयाँ थियो। एनएमबी बैंकको सञ्चालन नाफा पनि २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै प्राइम कमर्शियल बैंकले २६.९४ प्रतिशतको वृद्धि दर्ता गर्दै ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा कमायो भने ग्लोबल आईएमई बैंकले २०.०३ प्रतिशतको सुधारसहित ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ आर्जन गर्यो।

नेपाल एसबीआई बैंकको सञ्चालन नाफा ६.२३ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुग्दा सिद्धार्थ बैंकको नाफा ३.७८ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको देखिन्छ। एभरेष्ट बैंकको नाफामा भने यो वर्ष झिनो सुधार मात्र देखिएको छ। यसको नाफा ०.४९ प्रतिशतले मात्र बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुग्यो।

यी तीन बैंकको नाफामा भने धक्का

समीक्षा वर्ष सबै बैंकका लागि सुखद रहन सकेन। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये तीनवटा बैंकको सञ्चालन नाफामा भने उल्लेख्य गिरावट आएको छ। सबैभन्दा ठूलो गिरावट सरकारी स्वामित्वकै कृषि विकास बैंकमा देखियो।

कृषि विकास बैंकको सञ्चालन नाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा सीमित भयो, जुन अघिल्लो वर्ष ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ थियो। हिमालयन बैंकको सञ्चालन नाफा पनि २३.६० प्रतिशतले खुम्चिएर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, प्रभु बैंकको सञ्चालन नाफा १४.३४ प्रतिशतले ओरालो लाग्दै १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँमा समेटियो। निष्क्रिय कर्जाको चाप र कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा अतिरिक्त रकम छुट्याउनुपर्दा यी बैंकहरूको नाफा प्रभावित भएको देखिन्छ।

समग्र बैंकिङ परिदृश्य र आगामी बाटो

वाणिज्य बैंकहरूको यो मिश्रित तर समग्रमा सकारात्मक तथ्यांकले नेपाली बैंकिङ प्रणाली संकटबाट क्रमशः बाहिर निस्किँदै गरेको सकारात्मक संकेत गर्छ। खासगरी खराब कर्जा व्यवस्थापनमा बैंकहरूले गरेको मेहेनत, वित्तीय अनुशासन र सञ्चालन खर्चमा गरिएको कटौतिका कारण सञ्चालन नाफामा राम्रो सुधार आएको देखिन्छ।

केही बैंकहरू अझै पनि कर्जा असुलीको दबाब र व्यवसाय विस्तारको चुनौतीमा रहे पनि अधिकांश बैंकहरूले व्यावसायिक लय समातिसकेका छन्। बैंकहरूको यो आम्दानी सुधारले आगामी दिनमा सेयरधनीलाई दिने लाभांश क्षमता बलियो बनाउने मात्र नभई बजारमा तरलता प्रवाह बढाएर समग्र अर्थतन्त्रलाई चलायमान बनाउन समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।