२९ श्रावण २०८३, शुक्रबार

इजरायली-अमेरिकी स्टार्टअपद्वारा मोरक्कोमा नयाँ ‘एन्थम’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण



अब्राहम सम्झौताअन्तर्गत स्थापित नयाँ एएमटीईसी केन्द्रको पनि यसै परीक्षणमार्फत औपचारिक रूपमा सुरुआत भएको छ।

काठमाडाैँ । इजरायली-अमेरिकी स्टार्टअप ‘कभेनेन्ट इन्डस्ट्रिज’ ले गत साता दक्षिणी मोरक्कोको तान तान क्षेत्रमा आफ्नो नवीन ‘एन्थम’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। अमेरिकी सेना र मोरक्कोका सशस्त्र सेनाबीचको संयुक्त सैन्य अभ्यासको एक हिस्साका रूपमा यो क्षेप्यास्त्रको प्रत्यक्ष परीक्षण गरिएको हो।

यो परीक्षणसँगै नयाँ ‘अफ्रिका मल्टिडोमेन ट्रेनिङ एन्ड एक्सपेरिमेन्टेसन सेन्टर’ (एएमटीईसी) को पनि परिचालन रूपमा सुरुआत भएको छ। अमेरिका र माेरक्काे बीचको घनिष्ठ सहकार्य तथा अब्राहम सम्झौताअन्तर्गत स्थापना गरिएको यो नयाँ केन्द्रलाई उन्नत युद्ध प्रविधिका लागि स्थायी ‘सैन्य प्रयोगशाला’ बनाउने लक्ष्य राखिएको छ।

परीक्षणका क्रममा अमेरिकी र मोरक्कोका सेनाले कम्पनीका इन्जिनियरहरूसँग मिलेर सहारा मरुभूमिमा अस्थायी प्रक्षेपण स्थल बनाएका थिए। सोही स्थलबाट क्षेप्यास्त्रको सञ्चार प्रणाली, प्रक्षेपण संयन्त्र र वास्तविक समयमा सञ्चार तथा जलवायु डेटा सङ्कलन गर्ने क्षमताको परीक्षण गरिएको थियो।

गुपचुप तर शक्तिशाली उदय

कभेनेन्ट कम्पनीको स्थापना सन् २०२४ मा इजरायलमा कार्यरत अमेरिकी लगानीकर्ता तथा उद्यमी माइकल काउफम्यानले गरेका हुन्। इजरायल र जर्मनीमा साहायक कम्पनीहरू रहेको यस संस्थाले अहिलेसम्म आफ्नो सार्वजनिक उपस्थिति निकै न्यून राखेको छ र यसको कुनै आधिकारिक वेबसाइटसमेत छैन।

यद्यपि, फाउन्डर फन्ड र आन्द्रेसेन होरोविट्जजस्ता सिलिकन भ्यालीका प्रतिष्ठित कोषहरूबाट यसले करोडौँ डलर लगानी जुटाउन सफल भएको छ।

रक्षा प्रविधि क्षेत्रका उदीयमान कम्पनीहरूको लहरमा उभिएको कभेनेन्टले तुलनात्मक रूपमा कम लागतमा उन्नत युद्ध प्रविधि विकास गर्ने दिशामा ध्यान केन्द्रित गरेको छ। यसै क्रममा एन्थमलाई कम्पनीको प्रमुख उत्पादनका रूपमा अघि सारिएको छ।

अमेरिकाको महँगो ‘टोमाहक’ जस्ता भारी क्रुज क्षेप्यास्त्रहरूको तुलनामा यो निकै सस्तो, ठूलो मात्रामा उत्पादन गर्न सहज हुनुका साथै लामो दूरीसम्म प्रहार गर्ने र लक्ष्यमा सटीक निशाना लगाउने क्षमता भएको बताइएकाे छ। कम्पनीले ड्रोन र विमानहरूको हुललाई निस्तेज पार्न कम लागतका इन्टरसेप्टरहरूको विकासमा पनि काम गरिरहेको जेरूसेलम पाेष्टले लेखेकाे छ।

अमेरिकी सैन्य परीक्षण स्थलको पहुँच

मोरक्कोमा भएको यो परीक्षण अमेरिकी सेनाका सचिवको कार्यालयको एक नयाँ पहलकदमीमार्फत सम्भव भएको हो। उक्त पहलले निजी प्रविधि कम्पनीहरूलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूका सैन्य परीक्षण स्थलहरूमा ३० दिनभित्रै छिटो पहुँच प्राप्त गर्न अनुमति दिन्छ।

यो सुविधा उपयोग गर्ने कभेनेन्ट पहिलो कम्पनी बनेको छ। यो परीक्षणलाई सन् २०२७ को सुरुआतमै व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने दिशाको एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा हेरिएको छ।