एग्री केयर नेपालले आईपीओ निष्काशनको तयारी थाल्यो, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शदाता
काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ।
कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा कानुनी अवस्थाको मूल्यांकन र सम्भावित आईपीओको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता गरेको हो।
शुक्रबार श्रावण २९ गते चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा कम्पनीका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपालको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन, पूँजी संरचनाको पुनर्संरचना, कम्पनीको मूल्यांकन, सम्भावित आईपीओको आकार निर्धारण तथा आवश्यक संरचनागत सुधारका विषयमा परामर्श दिनेछ। साथै, सार्वजनिक कम्पनीमा रूपान्तरण तथा आईपीओ निष्काशनका लागि आवश्यक नियामकीय प्रक्रियामा समेत सहजीकरण गर्नेछ।
सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले सुरुवातमा बोटबिरुवाका लागि आवश्यक पोषण तथा सूक्ष्म पोषक तत्वमा आधारित कृषि सामग्री उत्पादन तथा वितरण गर्दै आएको थियो। सन् २००९ मा जैविक प्रविधि एकाइ सञ्चालनमा ल्याएपछि कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको हो।
हाल कम्पनीले बाली संरक्षण, बोटबिरुवा पोषण, मल, माटो सुधारक तथा जैविक कृषि सामग्रीमार्फत किसानलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई केन्द्रमा राखेर विज्ञानमा आधारित कृषि समाधान उपलब्ध गराउँदै आएको छ।
किसानलाई कृषि प्रविधि तथा उत्पादनसम्बन्धी जानकारी उपलब्ध गराउन कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रमसँगै किसान कल सेन्टरसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य, योजना व्यवस्थापन, संस्थागत परामर्श, शेयर रजिष्ट्रेसन तथा निष्काशन तथा बिक्री प्रबन्धलगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्न अनुमति प्राप्त संस्था हो।













